सीमा अतिक्रमण बारे ‘प्रधानमन्त्री टू प्रधानमन्त्री’ वार्ता हुनुपर्दछ : नेता पौडेल

कार्तिक २८, २०७६ | बिर्तामोड

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको कालापानी क्षेत्र अतिक्रमणको विषयमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीधा वार्ता गर्न प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिनु भएको छ । कालापानीको विवाद मन्त्रालयको सचिव वा मन्त्रिस्तरीय वार्ताले मात्र टुंगो लगाउन नसकिने उहाँले बताउनुभयो ।

झापाको बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले मुलुकको पश्चिमी क्षेत्रको सिमाना विवाद दीर्घकालिन रुपमा समाधानका लागि ‘प्रधानमन्त्री टू प्रधानमन्त्री’ वार्ता हुनुपर्नेमा जोड दिनुभयो । राष्ट्रियता र मुलुकको सिमानाको विषय भएकाले सरकारलाई सहयोग गर्न कांग्रेस सधैं तयार रहेको उहाँले बताउनुभयो ।  

‘मुलुकको सिमाना अतिक्रमणको विषय सबैका लागि गम्भीर कुरा हो’ पौडेलले भन्नुभयो, ‘यो विषयमा प्रधानमन्त्री स्वयम् अघि सरेर भारतीय प्रधानमन्त्री मोदीसँग वार्ता गर्नुपर्छ । हाम्रो मुलुकको पश्चिमी सिमाना कहाँसम्म हो, दीर्घकालिन रुपमा समाधान हुनेगरी तय गर्नुपर्छ ।’ नेपालको कालापानी क्षेत्रलाई आफ्नो सिमानाभित्र पर्नेगरी नयाँ नक्सा जारी गरेको भारतसँग वार्ता गर्न सरकारले ढिलासुस्ती गरिरहेको उहाँले आरोप बताउनुभयो । 

नेता पौडेलले सरकारले मुलुकको सिमाना सुरक्षित गर्न नसकेको आरोप समेत लगाउनुभयो । आफ्नो सिमाना सुरक्षित नगरेकै कारण भारतले मिचेको भन्दै उहाँले सरकारलाई तत्काल आफूसँग भएका यथेस्ट प्रमाणसहित सीमा विवाद समाधान गर्नेगरी भारतसँग वार्तामा बस्न आग्रह गर्नुभयो ।

नेपाली सिमाना अतिक्रमण गर्ने कार्यमा भारतसँगै चीनले समेत ‘हेपाहा’ प्रवृति अपनाएको उहाँले बताउनजुभयो । ‘हामीलाई भारतले हेप्यो हेप्यो । अहिलेको विषयमा चीनले समेत हेप्यो’ पौडेलले भन्नुभयो, ‘लिपुलेक भारतले दाबी गर्दै गर्दा चीनले नेपाल खोज्नुपर्दैन्थ्यो ?’ 


प्रतिक्रिया