ताराखोलाले जोड्यो तीन तहको भगिनी सम्बन्ध

रेडियो कान्तिपुर संवाददाता

कार्तिक २८, २०७६ | बागलुङ

बागलुङको ताराखोला गाउँपालिकाले तनहुँको बन्दीपुर र गुल्मीको धुर्कोट गाउँपालिकासँग भगिनी सम्बन्ध स्थापित गरेको छ । नेपालमै पहिलो पटक यी तीनवटा गाउँपालिकाले कृषि, पर्यटन, विकासको मोडल र लगानीको साझा एजेण्डामा छलफल र साझेदारीको रुपमा काम गर्ने सहमति गरेका हुन् ।

ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकश घर्तीको निमन्त्रणामा आएका बन्दीपुरका अध्यक्ष पूर्णसिंह थापा र धुर्कोटका अध्यक्ष भूपाल पोखरेलले सहमतिपत्रमा हस्ताक्षर गर्नुभयो । पहाडकी रानी भनेर चिनिने बन्दीपुर, श्रम जिविहरुको गाउँपालिकाको रुपमा चिनिएको ताराखोला र ऐतिहासिक महत्वको धुर्कोट तीनवटै गाउँपालिका पहाडमा अवस्थित छन् ।

उनीहरुले कृषि, घरेलु उद्योग र पर्यटक भित्राएर समृद्धि ल्याउने साझा प्रतिवद्धता पनि जनाए । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्सालको उपस्थितिमा उनीहरुले साझा सहमतिमा हस्ताक्षर समेत गर्नुभयो । 

उनीहरुले नेपालकै ईतिहासमा पहिलो पटक तीन गाउँपालिकाको मितेरी लगाएको पहिलो पटक भन्दै पर्यटन प्रवद्र्धनमा यो कदम कोषे ढुंगा हुने लम्सालले बताउनुभयो । ‘तीनवटा पालिका मिलेर विकासको मोडल बनाउने, एक गाउँका बासिन्दालाई मितेरी साईनो लगाएर अर्को गाउँ घुमाउने प्रकृयाले नेपाल भ्रमणबर्ष सफल बनाउने कदम बनेको छ’ लम्सालले भन्नुभयो, ‘देशभरका अरु पालिकामा पनि यो क्रम अब थालिनेछ ।’ 

ग्रामीण पर्यटनको विकासका लागि पूर्वाधार निर्माणमा तीनवटै तहले प्राथमिकता दिने प्रतिवद्धता पनि जनाएका छन् । ताराखोलामा अर्गानिक कृषि फार्म, पशुपालन, ट्राउट माछा, अल्लो लगायतको कृषि उत्पादन भैरहेको छ । साथै ढुंगाखानी, हाते कागज, ढाका लगायतको सामाग्री उत्पादनमा रोजगारी पनि दिइएको छ । 

तीनवटै तहले होम स्टे मार्फत पर्यटक भित्राउने योजना पनि बनाएको बताए । बन्दीपुरमा बिदेशी पर्यटक समेत आउने भएपनि होमस्टे पनि संचालन गरेको उपाध्यक्ष करुणा गुरुङले बताउनुभयो । ताराखोलाले पनि दुइवटा होमस्टे संचालनमा ल्याएको छ । ती हेमस्टेमा कोदोका प्रकार, आलु र पिंडालुका परिकार खान पाईने व्यवस्था गरिएको छ । मगर संस्कृतिको धनी भएकोले यहाँ आउने पाहुनालाई धेरै प्रकारका सांस्कृतिक झाँकी देखाउने चलन पनि छ । 

धुर्कोट गाउँपालिका चौबिसे राज्यको शक्तिशाली थियो । उक्त विरासत राख्नका लागि विकास र रोजगारीमा निरन्तर खटेर विदेश पलायन रोक्ने अभियान थालेको पोखरेलले बताउनुभयो । तीनवटै तहले पूर्ण सरसफाई युक्त बनाउने समेत प्रतिवद्धता जनाएका छन् । भगिनी सम्बन्धले स्थानीय उत्पादनको बजारीकरणमा पनि सहयोग पुग्ने स्थानीयको बुझाई छ । 


प्रतिक्रिया