ढोरखानीमा फलाम खानीको खोजी

कार्तिक २९, २०७६ | तनहुँ

तनहुँको शुक्लागण्डकी ढोरखानीमा फलाम खानीको खोजी गर्न थालिएको छ । खानी तथा भूगर्भ विभागको प्राविधिक टोली शुक्लागण्डकी नगरपालिका १० को छापा, भकल ढोरखानी, भगवती र वडा नम्बर ११ को क्याग्दी फलाम खनिजको सर्वेक्षण तथा खोजतलास गरिएको हो ।

खानी तथा भूगर्भ विभागका वरिष्ठ भूर्गभ विद् ठाकुरप्रसाद कँडेल नेतृत्वको टोलीले एक सातादेखि शुक्लागण्डकीको ढोरखानीमा फलाम खनिजको भौतिक प्रविधिबाट सर्वेक्षण तथा खोजतलास गरिरहेका छन् ।

देउराली भाकल, क्याग्दी खोला र कालीबोटमा फलाम खनिज भेटिएको विभागका वरिष्ठ भूर्गभ विद् ठाकुरप्रसाद कँडेलले बताउनुभयो । फलामको गुणस्तर र मात्राको तथ्याङ्क लिने काम भइरहेको छ । ५ देखि ७ मिटर फलामको चौडाई र लम्बाई डेढ किमी फैलिएको देखिएको छ । 

सर्वेक्षण गरेको फलाम खनिजको भूभौतिक प्रतिवेदन आर्थिक बर्ष भित्र तयार हुने सर्वेक्षण टोलीले बताएको छ । भूभौतिक प्रविधिबाट फलाम खनिजको सर्वेक्षण विभागमा गएर अध्ययन र विश्लेषण गरिन्छ । फलाम खनिजको गुणस्तर, वस्तुस्थिति, सतह मुनीको पहिचान पनि विश्लेषणमा मात्र पत्ता लाग्ने भूर्गभविद् प्रकाश पोखरेलले जानकारी दिनुभयो ।

विभागले यस अघि भौगर्भिक नक्सा तयार गरेको र त्यस क्षेत्रको दर्जन ठाउँबाट फलाम खनिजको नमूना संकलन गरिसकेको छ । अहिले फलामको नमूना प्रयोशालामा परीक्षण भइरहेको छ । अघिल्लो आर्थिक वर्षमा भौगर्भिक नक्सा, गत आर्थिक वर्षमा फलाम खनिजको नमूना संकलन र यस वर्ष भूभौतिक सर्वेक्षण गरेको छ । यी तीन किसिमको अध्ययन पश्चात मात्र विस्तृत फलाम खनिजको परिणाम थाहा हुने प्राविधिकले बताएको छ ।

अध्ययन सकेपछि नतिजा राम्रो देखिएमा अर्को चरणको अध्ययन सुरु हुने उहाँले बताउनुभयो । झण्डै तीन सय वर्ष अगाडि ढोरखानीबाट फलाम उत्खनन गरेर भिमाद स्थित सेती नदीमाथि फलामे साङ्गले झोलुङ्गेपुल निर्माण गरेको थियो । 


प्रतिक्रिया