६ किलो चाँदी सहित एक पक्राउ

कार्तिक ३०, २०७६ | जनकपुर

भारतबाट गर–गहना बनाएर नेपाल ल्याउँदै गरेको ६ किलो चाँदी सशस्त्र प्रहरीले शनिबार पक्राउ गरेको छ । चाँदीसँगै सशस्त्र प्रहरीले ७ लाख २० हजार १ सय रुपैयाँ समेत बरामद गरेको छ ।

सशस्त्र प्रहरी धनुषाका एसपी राजेश उप्रेतीका अनुसार जनकपुर–२५ को लोहनाबाट सिरहाका ४८ वर्षीय अरुण गुप्तालाई चाँदी र नगदसहित पक्राउ गरिएको छ । भारतबाट चाँदीको गहना बनाएर जनकपुर ल्याउने क्रममा गुप्ता पक्राउ परेका हुन् । 

साइकलमा रहेका गुप्ताले शरीरभरि चाँदी र पैसा बाँधेर ल्याइरहेको सूचनाको आधारमा पक्राउ गरिएको एसपी उप्रेतीले जानकारी दिनुयो । सशस्त्र प्रहरीले चाँदीको तस्करी गर्ने गिरोहलाई पछ्याएर धमाधम पक्राउ गर्न थालेको छ । दुई महिनायता मात्रै सशस्त्र प्रहरी धनुषाले ५५ किलो चाँदी बरामद गरिसकेको छ ।

‘जनकपुरको सुनचाँदी व्यापारीलाई चाँदीको गहना दिन गुप्ता भारतबाट हिँडेको देखिन्छ,’ एसपी उप्रेतीले भन्नुभयो, ‘अनुसन्धान हुँदैछ ।’

नेपालबाट चाँदीको दाना भारत लग्ने र त्यहाँबाट गर–गहना बनाएर नेपाल ल्याउने गिरोह अहिले धनुषामा सक्रिय छन् । प्रहरीका अनुसार भारतको पटनामा चाँदीको गहना बनाउने मेसिन रहेकाले जनकपुरका सुनचाँदी व्यवसायीहरुले भन्सार छलेर चाँदीको दुई देशीय कारोवार गरिरहेको छ । सशस्त्र प्रहरीले चाँदी तस्करीको नेक्सस यो बीचमा भत्काइदिएको छ । 


प्रतिक्रिया