उदगमस्थलबाटै महाकाली सीमा नदी हो : सभापति देउवा

कार्तिक ३०, २०७६ | महेन्द्रनगर

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले महाकाली नदी उदगमस्थलबाटै सीमा नदी भएकोले भारतको नयाँ नक्सामा राखिएको कालापानी लगायतको क्षेत्र नेपाली भूभाग भएको बताउनु भएको छ । 

‘महाकाली पूर्वको उत्तरपश्चिम सीमान्त क्षेत्रको भूभाग नेपाल भारत र चीनको त्रिदेशीय सिमानाका रुपमा रहेको छ’ शनिवार महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा देउवाले भन्नुभयो, ‘महाकाली नदी पूर्वको भूभाग नेपाली भूमि हो । उहाँले आफ्नो पार्टीको कालापानी बारेको धारण सधैं स्पष्ट रहेको बताउनुभयो । 

पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले महाकाली सन्धीले पनि महाकाली नदी सीमा नदी भएको र महाकालीको पानीमा नेपाल र भारतको बराबरी हक भएको पुष्टी गरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘पञ्चेश्वर परियोजना बनेपछि महाकालीको पानीमा दुबै देशको आधा–आधा हिस्सा लाग्नेछ ।’ 

कालापानीमा भारतीय फौज बहुदल आउनु धेरै अघि २०१८ साल देखि बस्दै आएको प्रसंग उल्लेख गर्दै देउवाले कालापानी नेपालकै भूभाग भएको यथार्थ स्थापित गर्न कूटनीतिक पहल आवश्यक भएको बताउनुभयो । हालै भएको सर्वपक्षिय भेलामा सरकारलाई यो विषयमा आवश्यक पहल गर्न कांग्रेस लगायत सबै दलको साथ सर्मथन रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकार राष्टियताको नारा लगाएर ठूला कुरा गर्छ तर काम गर्दैन, ‘सरकार भने लम्पसारवादको नीतिमा रहेको छ ।’

निर्मला पन्तका बलात्कारी र हत्यारा हालसम्म पक्राउ पर्न नसकेको बारेमा सञ्चारकर्मीको प्रश्नमा देउवाले सरकार आफैले हत्यारा लुकाउन खोजेको आरोप लगाउनुभयो । ‘सारा संसार भरी निर्मलाको घटना बारे चर्चा र चासो भइरहेको अवस्थामा सरकार भने बलात्कारी र हत्यारालाइ बचाउन लागेको छ’ उहाले भन्नुभयो, ‘हामी कदापी हत्यारालाई उम्कन दिने छैनौं । हाउसमा यो विषयलाई अझ बढी जोडका साथ उठाउने छौ ।’

विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा कांग्रेसले भागबण्डा खोजी रहेको सम्बन्धी एक अर्को प्रश्नमा सभापति देउवाले देश कुनै एक पार्टीको मात्र नभएकोले महत्वपूर्ण विषयमा मिलेर जानु पर्छ भन्ने आशयले विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा एकलौटी नहोस् भन्ने कांग्रेसको धारणा सरकार समक्ष राख्दै आएको बताउनुभयो । 


प्रतिक्रिया