जंगली हात्तीको आक्रमणबाट दुईजनाको मृत्यु

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ३०, २०७६ | चितवन

भरतपुर-माडी-ठोरी हुलाकी सडकको चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने अमुवा पोष्ट नजिकको जंगलमा शनिबार जंगली हात्तीले आक्रमण गर्दा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकै बाबुछोरा रहेका छन् । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार बगइ जंगलको देउराली भन्ने ठाउँमा जंगली हात्तीले उनीहरुलाई आक्रमण गरेको थियो ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएपी एकनारायण कोइरालाका अनुसार मृत्यु हुनेमा ६५ वर्षीय बाबुराम पौडेल र उनका छोरा ३५ वर्षीय राजु पौडेल रहेका छन् । माडी नगरपालिका–१ बरुवा बजार बस्ने उनीहरु लु ३१ प २९११ नम्बरको मोटरसाइकल चढेर बाँदरझुला गाउँ जाँदै थिए । माडीका स्थानीय सूर्य पाठकका अनुसार उनीहरु तिल किन्नका लागि बिहान आठ बजे माडीबाट हिँडेका थिए ।

माडी कटेपछि बाँदरझुला पुग्न चितवन राष्ट्रिय निकुञ्जको झण्डै १८ किलो मिटर लामो बगइ जंगल पार गर्नु पर्दछ । भरतपुरबाट ठोरी जाँदै गरेको रात्री बसको पछि लागेर उनीहरु जाँदै थिए । हात्तीले बसलाई पनि बाटो छेकेको थियो । बसले बाटो पार गरेपनि मोटरसाइकल चढेका पौडेलका बाबु छोरा जोगिन सकेनन् ।

घटना स्थल पुगेर फर्केका सूर्य पाठकका अनुसार बाटोदेखि भित्र बाबु छोराको शव भेटिएको हो । माडी क्षेत्र र बगइ जंगल जंगली हात्ती ओहर दोहर गर्ने ठाउँ हो । यो ठाउँ पर्सा निकुञ्जसँग पनि जोडिएको छ । हात्तीको बथान नै आएर गाउँमा दुख दिने गर्दछ । यसअघि असोज १२ गते जंगली हात्तीले आक्रमण गर्दा माडीमै एक जनाको ज्यान गएको थियो । 


प्रतिक्रिया