करेन्ट लगाउँदै माछा मार्दै 

कार्तिक ३०, २०७६ | स्याङ्जा

स्याङ्जाको फेदीखोला गाउँपालिका–२ स्थित सेतीखोलामा करेन्ट लगाएर माछा मार्दै गरेका स्थानीय ७ जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । व्याट्रीको प्रयोग गरी करेन्ट लगाई माछा मारी रहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा फेदीखोला २४ वर्षीय लक्षिन गुरुङ, २४ वर्षीय सुरेश बानियाँ, ३३ वर्षीय अमित गुरुङ, ५३ वर्षीय विरबहादुर गुरुङ, २६ वर्षीय रुपेश गुरुङ, ३६ वर्षीय राजन गुरुङ र ३४ वर्षीय निमबहादुर गुरुङ रहेका छन् ।

उनीहरुको साथबाट माछा मार्नको लागि प्रयोग गरिएको १२ भोल्टेजको व्याट्री, बाँस र काठमा जडित तार, निलो तुथो १ डल्लो र जाली समेत प्रहरीले बरामद गरेको थियो ।

उनीहरुलाई शुक्रबार नै जिल्ला प्रशासन कार्यालयमा पेश गरिएको डीएसपी भण्डारीले बताउनुभयो । उहाँका अनुसार प्रतिव्यक्ति ३/३ हजारको दरले जरिवाना दाखिला गरी छोडिएको छ । 


प्रतिक्रिया