सुमन र अन्नाले जिते एभरेष्ट ट्रेल रेसको उपाधि

कार्तिक ३०, २०७६ | ओखलढुंगा

एभरेष्ट ट्रेल रेस नवौं संस्करणको पुरुष तर्फको उपाधि नेपाली धावक सुमन कुलुङ राईले जितेका छन् । सोलुखुम्बुको पत्तालेबाट ६ दिन अघि सुरु भएको ट्रेल रेस आज लुक्लामा समापन भएको हो । सुमनले १ सय ७० किलोमिटर लामो दूरी २० घण्टा ५१ मिनेट ३६ सेकेन्डमा पूरा गरे ।

त्यसैगरी, महिला तर्फको उपाधि भने स्पेनकी धाविका अन्ना कोम्याटीले जितेकी छन् । उनले निर्धारित दूरी २६ घण्टा २० मिनेट ५६ सकेन्डमा पूरा गरिन् । त्यसैगरी पुरुष तर्फको उपविजेता स्पेनकै मोरालेस जेर्राड भए । उनले २३ घण्टा २८ मिनेट २९ सेकन्डमा दूरी पार गरे । नर्वेका सेडस्रोड ह्यान्डस तेश्रो भए । उनले २३ घण्टा ५४ मिनेट १३ सेकेन्डमा निर्धारित दूरी पार गरे ।

महिला तर्फको उपविजेता ब्राजिलकी मनुआला भिलासेका भइन् । उनले २९ घण्टा २९ मिनेट ५ सेकेन्डमा निर्धारित दूरी पार गरिन् । स्पेनकी नुरिआ डोमिनिक्स तेश्रो भइन् । उनले ३० घण्टा ३ मिनेट ४६ सेकेन्ड लगाइन् । 

पुरुष विधाका विजेता कुलुङ सोलुखुम्बु गुदेलका स्थायीबासी हुन् । उनले यसअघि एभरेष्ट म्याराथन दुई पटक जितेका थिए । ट्रेल रेसको उपाधि जित्ने सपना यसपाली पूरा भएको उनले बताए । गतवर्ष सहभागी भएपनि उनले उपाधि जित्न सकेका थिएनन् ।

ट्रेल रेसका विजेताहरुलाई सोमबार राजधानीमा विशेष कार्यक्रमका बीच पुरस्कार वितरण गरिने आयोजक संस्था अन्नपूर्ण ट्रेक्स एण्ड एक्सपीडिशनका कार्यकारी निर्देशक कामी शेर्पाले बताउनुभयो । 


प्रतिक्रिया