टेलिकमको नाफा तीन महिनामा सवा तीन अर्ब 

कार्तिक ३०, २०७६ | काठमाडौं

नेपाल टेलिकमले साउनदेखि असोजसम्म तीन महिनाको अवधिमा सवा तीन अर्ब नाफा गरेको छ । टेलिकमले आज सार्वजनिक गरेको आफ्नो त्रैमासिक वित्तीय विवरणमा उल्लेख गरिए अनुसार यो अवधिमा कम्पनीले तीन अर्ब २४ करोड ६७ लाख नाफा गरेको छ ।

अघिल्लो वर्षको तुलनामा यो त्रैमासिकमा करीब २५ करोड नाफा कम भएको हो । अघिल्लो आर्थिक वर्षको साउनदेखि असोजसम्मको अवधिमा टेलिकमले साढे तीन अर्ब नाफा गरेको थियो । यो तीन महिनामा टेलिकमले कुल १० अर्ब ६० करोड आम्दानी गरेको थियो ।

अघिल्लो वर्षको यही अवधिमा कम्पनीको कुल आम्दानी १० अर्ब ८५ करोड थियो । यो अवधिमा जीएसएम सेवाबाट मात्रै ६ अर्ब ४३ करोड आम्दानी भएको टेलिकमको वित्तीय विवरणमा उल्लेख छ । योमध्ये रिचार्च कार्डको छुट बापत ३२ करोड खर्च भएको कम्पनीले जनाएको छ ।

नियमित डाटा शुल्क भन्दा छुट दिइएको डाटा प्याकेजमा उपभोक्ता आकर्षित हुँदै गएको विश्लेषण टेलिकमको छ । टेलिकम बजारमा प्रतिस्पर्धा, प्रविधिको तीव्र विकास, अन्तर्रा्ष्टि्रय कलमा आएको कमी, वैदेशिक रोजगारीमा जानेको संख्यामा आएको कमीलाई टेलिकमले चुनौतिको रुपमा उल्लेख गरेको छ ।


प्रतिक्रिया