नेकपा नाच्दै, कांग्रेस सडक बालबालिकालाई खाना खुवाउँदै भोट माग्दै 

कार्तिक ३०, २०७६ | सुनसरी 

सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख पदका उम्मेदवारहरु चुनावी मैदानमा आफ्नो प्रचारप्रसार र घरदैलो अभियानसँगै मतदाताको ध्यानाकर्षणका लागि विभिन्न चुनावी ‘स्टन्ट’ गर्न भ्याइरहेका छन् ।

धरानमा कांग्रेस र नेकपा बीच नै कडा प्रतिस्पर्धा भएपनि साना दलहरु समाजवादी पार्टीका उम्मेदवार गजेन्द्र इस्वो, संघीय लोकतान्त्रिक मञ्चका अमर इजम, राष्ट्रिय जनमुक्ती पार्टीका गोकर्ण राई लगायत उम्मेदवारहरु सामान्य रुपमा प्रचारप्रसार र घरदैलो अभियानमा सक्रिय रहेका छन् ।

नेकपा र कांग्रेसका उम्मेदवार भने आरोप प्रत्यारोपलाई चिर्ने र प्रचार शैलीलाई प्रोपोगण्डा बनाएर मतदाताको ध्यानाकर्षण गर्न थालेका छन् । कांग्रेसका तिलक राई सडक बालबालिकालाई खाना वितरण गररहेको फोटो सामाजिक संजालमा पोस्ट गरिरहँदा नेकपाका उम्मेदवार प्रकाश राई टोलटोलमा पुगेर नाच्दै मतदाताको ध्यान खिच्ने प्रयासमा जुटेका छन् ।  

नेकपाका उम्मेदवार प्रकाश राईले आफू विजयी भएमा धरान उपमहानगरपालिकाले वृद्धि गरेको विभिन्न करको दर घटाउने आश्वासन दिंदै मतदाताको मन जित्ने प्रयास गरिरहेका छन् । कांग्रेसले नेकपा नेतृत्वको धरान उपमहानगरपालिकाले करवृद्धि गरेर जनताको ढाड सेक्ने काम मात्र गरेको आरोपल लगाउँदै घरदैलो अभियान चलाइरहेको बेला नेकपाका उम्मेदवार राईले करदाता र कर विज्ञहरुले दिएको सुझाव अनुसार करको दर घटाउने आस्वासन दिएका हुन् ।

आफू निवार्चित भएर गएपछि पहिलो प्राथमिकता नै धरानबासीको माग र आवाजलाई सम्बोधन गर्ने प्रत्येक मतदातासँग बाचा गरिरहेका छन् । धरान १६ जनपदमा भोट माग्दै पुगेका उहाँले भन्नुभयो, ‘स्थानीय सरकारले वृद्धि गरेको करको विषयमा चिन्ता नलिनोस् । कर घटाउने विषयमा पहिलो प्राथमिकतामा राख्ने छु । त्यसका लागि करदाता, विज्ञ र सरोकारवाला सबैसँग छलफल गरेर अघि बढ्नेछु ।’ 

उहाँले भोट मात्र नमागेर समयले भ्याएसम्म व्यक्ति पिच्छेसँग अन्तक्रिया गर्न सुरु गरेका छन् । राईले शनिबार मतदातसँग अन्तक्र्रिया गदै कांग्रेसले धरानमा जित्नु भनेको धरानको दुर्भाग्य सुरु हुनु बराबर भएको दाबी गर्नुभयो ।  संघ र प्रदेशमा नेकपाको सरकार हुँदा स्थानीय तहको प्रमुख पदमा कांग्रेसले जिते भइरहेका विकास निर्माणका योजनाहरु झन अलपत्र हुने पनि उहाँले बताउनुभयो । 

चुनाव नजिकिंदै जाँदा उनी विद्यार्थी, शिक्षक, व्यवसायी, यातायात मजदुर, उद्योगी, व्यापारी, कर्मचारी, संघसंस्थाका पदाधिकारी लगायत प्रत्येक मतदातासँग प्रश्न गरेर पाएको सुझाव टिप्दै भोट मागिरहेका छन् ।

कांग्रेसका उम्मेदवार तिलक राई भने नेकपा भन्दा फरक शैली अपनाएर घरदैलो अभियानलाई आक्रामक र प्रचाररात्मक बनाइरहेका छन् । उम्मेदवार राई धरान १७ टेम्के मागस्थित धरान उपमहानगर स्वर्गीय प्रमुख तारा सुब्बा घरमा छिरेर श्रीमती इन्दु सुब्बाबाट विजयको आशीर्वाद र जितको शुभकामना दिन अनुरोध गर्न पुगे । स्वर्गीय सुव्वाका श्रीमती इन्दु नेकपाका उम्मेदवार प्रकास राईका प्रस्तावक हुन् ।

गत २०७४ असारमा सम्पन स्थानिय तहको निर्वाचनमा तारा सुब्बासंग तिलक पराजित भएका थिए । नेकपाकै उम्मेदवारको प्रस्तावकको घरमा भोटमाग्दै आइपुगेका कांग्रेसका उम्मेदवार राईलाई घरायसी काममा ब्यस्त रहेकी इन्दुले मुस्काउदै स्वागत गरेर आशिर्वादसंगै शुभकामना दिनुभयो । यसअघि कांग्रेसका उम्मेदवार राईले धरानको भानुचोकमा भोट माग्ने क्रममै आयोजित एक कार्यक्रममा सडक बालबालिकालाई खाद्यान्न वितरण गर्नुभयो । तिलक राईले अरु दलका उम्मेदवारसँग सुनियोजित जम्काभेट, अंकमाल, भलाकुशारी गरेका तस्बिहरु सामाजिक संजालमा हालेर प्रचार बटुल्ने प्रयास जारी राखेका छन् । 


प्रतिक्रिया