गिलुङ चिनाउन जुटे गाउँले

मंसिर २, २०७६ | लमजुङ

गिलुङका बासिन्दाले गाउँ चिनाउन थुप्रै क्रियाकलाप गरे । पौराणिक संस्कार संस्कृतिको जगेर्ना गरे । गाउँमा मौलिक संस्कृति झल्कने घरहरु निर्माण गरे । स्थानीय र पर्यटकको सहजताका लागि गाउँमा मोटरबाटो पुर्‍याए । त्यतिमात्रै होइन, घरघरमा शौचालय बनाए, घरघरै धारा जडान गरे । पर्यटक प्रवद्र्धनकै लागि गीत मार्फत गाउँको प्रचारप्रसारमा जुटे ।

गाउँका बीचबीचमा सिंढी निर्माण गरे । गाउँ सरसफाईयुक्त बन्यो । सामुदायिक संरचना थप्दै लगे । बेलायत, अमेरिकादेखि पोखरा बस्दै आएका र स्थानीय समेत पर्यटन प्रवद्र्धनका कार्यक्रममा जुटे । तर, सोंचे अनुरुप गाउँमा पर्यटन प्रवद्र्धन हुन सकेन ।

सडक सञ्जालमा पोखराबाट नजिक र बेंसीसहरबाट टाढा भएर पनि गिलुङमा सहज रुपमा पर्यटक आउन नसकेको स्थानीय बताउँछन् । तर, अहिले गाउँमै सडक पुगेपछि पोखरा, बेंसीसहर, काठमाडौं, चितवन जुनसकै ठाउँबाट पनि सवारी साधनबाट सीधै गिलुङ पुगिने वडा अध्यक्ष नन्दजंग गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिले हिँडेर आउँदा टाढा लाग्थ्यो । अहिले गाडी चलेपछि बजारबाट नजिकै छ । पर्यटक आउन अहिले सजिलो छ ।’ 

करीब ४० वर्षअघि गिलुङमा पढ्न आएका डम्बर घलेले पछिल्लोपटक गिलुङ गाउँमा विकासले गति लिएको बताए । बेलायती सेनाका भूतपूर्व उनी आफ्नो गाउँ कास्कीको मादी गाउँपालिका ८, नाघिधारबाट ६ घण्टा लगाएर गिलुङ आएको बताए । ‘पर्यटन प्रवद्र्धन र विकासमा बेलायतमा रहेका स्थानीय निकै सक्रिय भएका छन् । गाउँमा आएर यहाँका सुखदु:ख बुझ्नु ठुलो कुरा हो । आफ्नो गाउँठाउँलाई बिर्सन हुँदैन’ उनले भने । 

पूर्व प्राज्ञ इन्द्रबहादुर गुरुङका अनुसार विकासमा पछिल्लो समय गिलुङले गति लिएको छ । उहाँले भन्नुभयो, ‘पहिले को कता कता हुन्थ्यो । अहिले गाउँको विकास र पर्यटन प्रवद्र्धन गर्न देश विदेशका सबै एकजुट भएको देख्दा, सबै गाउँ आएको देख्दा निकै खुशी लागेको छ ।’ उहाँका अनुसार गाउँ चिनाउन, गाउँको पर्यटन प्रवद्र्धन गर्न र विकास सघाउन युवा बेलायतबाट गाउँ फर्केका छन् ।

गाउँमा पर्यटन प्रवद्र्धन गर्न १२ वर्षअघि २०७४ चैतमा स्थानीयले गिलुङ महोत्सव आयोजना गरेका थिए । ‘पहिले गाविसस्तरको महोत्सव थियो । अहिले पर्यटन महोत्सवको रुपमा मनायौं’ गिलुङ समाज पोखराका अध्यक्ष दूधमान गुरुङ (आषिश) ले भन्नुभयो, ‘हामी जहाँ भएपनि गिलुङको विकासका लागि जुटेका छौं ।’

गाउँमा पर्यटन प्रवद्र्धन गर्न १५ घरमा होमस्टे सञ्चालन गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले पर्यटन बर्ष २०२० मनाउने घोषणा गरेकोमा हामी सरकारको काममा सहभागी हुन चहान्छौं । गाउँमा पर्यटन प्रवद्र्धन गरेर आत्मनिर्भर हुने यो सुनौलो अवसर हुनसक्छ ।’

गिलुङबासीले कार्तिक २९ र ३० गते गिलुङ पर्यटन महोत्सव मनाए । लोपुन्मुख सांस्कृतिक झाँकी र संस्कृतिले पाहुनाको मन जित्यो । प्रजापति पराजुली, मनोज गुरुङ, तेजेन्द्र गुरुङ, प्रिया गुरुङ, उषा गुरुङ, भारती घले लगायतको प्रस्तुतिबाट स्थानीयले मनोरञ्जन लिए । स्थानीय पसबहादुर गुरुङका अनुसार महोत्सवमा सहभागी पाहुनालाई लोकल कुखुराको मासु लगायत स्थानीय परिकार र स्थानीयस्तरमै उत्पादन गरिएको खाद्यवस्तु खुवाइएको थियो ।

समुद्री सतहदेखि १ हजार ४ सय ५० मिटर उचाईको गिलुङबाट धौलागिरी, माछापुच्छ्ेर, अन्नपूर्ण, लमजुङ हिमालदेखि डा. हर्क, मनास्लु, बौद्ध लगायत दर्जन बढी हिमश्रृंखला देख्न सकिन्छ । करीब ४ सय घर भएको गिलुङ कास्कीसंग जोडिएको छ । स्थानीय बासिन्दा समेत रहेका तमु धीं युकेका सल्लाहकार मुछेत्र गुरुङले गाउँको विकासका लागि चहलपहल आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले महोत्सव गर्‍यौं । गाउँ र होमस्टेको प्रचारप्रसार थालेका छौं । हामी भौतिक पूर्वाधार पनि थप्दै लानेछौं, ‘अबको १० बर्षमा गिलुङले छुट्टै गति लिनेछ ।’

पोखराबाट बेगनास ताल, तालबेंसी हुँदै सीमाक्षेत्र रामबजार निस्केर गिलुङ पुग्न सकिन्छ । दैनिक चल्ने सार्वजनिक सवारी साधनमा करीब ४ घण्टामै गिलुङ पुगिन्छ । काठमाडौं, चितवनबाट आउनेहरु तनहुँको दमौलीस्थित भोर्लेटार चोकबाट भोर्लेटार, रामबजार हुँदै साँढे २ घण्टामै गिलुङ पुग्न सकिन्छ । बेंसीसहरबाट जानेहरु भोर्लेटार निस्केर ४ घण्टामा गिलुङ पुग्न सकिन्छ । हिउँदमा क्व्होलासोंथर गाउँपालिका भएर पनि गिलुङ पुग्न सकिन्छ ।


प्रतिक्रिया