मन्त्रिपरिषद् पुनर्गठन प्रक्रिया लम्बियो

रेडियो कान्तिपुर संवाददाता

मंसिर २, २०७६ | काठमाडौं

नेकपा सचिवालयले मन्त्रिमण्डल पुनर्गठनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वीकृति दिएपनि अर्का अध्यक्ष पुष्पकमल दाहालसँग सहमति हुन नसकेपछि प्रक्रिया लम्बिएको छ ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले कार्यसम्पादनमा कमजोर देखिएका मन्त्री हटाउन चाहेपनि अर्का अध्यक्ष दाहालले खानेपानी मन्त्री बिना मगरलाई यथावत राख्न चाहेपछि पुनर्गठन प्रक्रिया लम्बिएको हो । मन्त्री मगर, अध्यक्ष दाहालकी बुहारी हुन् । दुई मन्त्रीलाई हटाउने र राख्ने विषयमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच विवाद देखिएको छ । 

पूर्व माओवादीतर्फबाट गृहमन्त्री बनेका रामबहादुर थापा र खानेपानी मन्त्री बिना मगरलाई हटाउने वा नहटाउने भन्ने विषयमा ओली–दाहालबीच मतान्तर देखिएको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री ओली गृहमन्त्री थापालाई यथावत राख्ने र खानेपानी मन्त्री मगरलाई हटाउने पक्षमा हुनुहुन्छ । तर, अध्यक्ष दाहाल गृहमन्त्री थापालाई हटाउने र बुहारी बिनालाई खानेपानी मन्त्रीमै यथावत राख्ने अडानमा देखिनु भएको छ । दाहाल गृहमन्त्री थापालाई हटाएर आफू अनुकूलका व्यक्ति पठाउने योजनामा हनुहुन्छ । 

दाहाल निकट एक नेताका अनुसार पछिल्लो समय दाहाल र थापाबीचको सम्बन्ध राम्रो छैन । सरकारमा गएपछि आफूलाई सहयोग र समन्वय नगरेको भन्दै दाहाल थापासँग असन्तुष्ट हुनुहुन्छ । अध्यक्ष दाहाल भने कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल र उद्योग वाणिज्इ तथा आपूर्ति मन्त्री मातृका यादवलाई हटाएर सो ठाउँमा जनार्दन शर्मा र लेखराज भट्ट वा अग्नी सापकोटालाई मन्त्री बनाउने तयारीमा हुनुहुन्छ ।

प्रधानमन्त्री ओली पार्टी भित्रको सन्तुलन मिलाउन भन्दै गृहमन्त्री थापालाई यथावत राख्ने योजनामा हुनुहुन्छ । प्रधानमन्त्री ओलीले गृहमन्त्री थापासँगै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनलाई समेत पुनर्गठित मन्त्रिमण्डलमा निरन्तरता दिने र पूर्वमाओवादीका तर्फबाट मन्त्री भएका अन्य सबैलाई हटाउने तयारी गर्नुभएको एक नेताको भनाई छ । अध्यक्ष दाहाल भने कृषि मन्त्री खनाल र उद्योग मन्त्री यादवलाई मात्र हटाउने अडानमा हुनुहुन्छ । 

तात्कालीन एमालेबाट मन्त्री भएका पनि अधिकांश परिवर्तन हुने सम्भावना छ । अर्थमन्त्री युवराज खतिवडाको राष्ट्रिय सभा सदस्यता यही माघमा सकिने भएकाले उहाँसहित भौतिक, पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, महिला बालबालिका तथा जेष्ठ नागरिक, सञ्चार तथा सुचना प्रविधि र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा हेरफेर गर्ने तयारी प्रधानमन्त्री ओलीको छ । ओली र दाहालबीच सहमति भए लगत्तै मन्त्रिमण्डल पुनर्गठन हुनेछ । यही विषयमा सहमति जुटाउन प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच छलफलको तयारी छ । 


प्रतिक्रिया