मोरङ डायरी

मंसिर २, २०७६ | मोरङ

मोरङको मिक्लाजुङ गाउँपालिका २ स्थित चुरेमा रहेको रमणीय प्राकृतिक मनमोहक दृष्य भएको चुलीपोखरी पर्यटकको पर्खाइमा छ । चुरेको चुचुरोमा ४ बिघा क्षेत्रफलमा फैलिएको पोखरीको तीन तिरबाट जंगल र एकातिर चुलीपोखरी गाउँ र खेतबारी छ ।

अंग्रेजीको डब्ल्यू आकारको चुरे पहाडको काँखमा रहेको यो पोखरीलाई पर्यटकीय गन्तव्य बनाउनका लागि स्थानीयले पहल थालेका छन् । ४० घरधुरी भएको चुली पोखरीका बासिन्दाले २०७५ पुस २३ गते स्थानीय भीमबहादुर श्रेष्ठको अध्यक्षतामा चुली पोखरी पर्यटन क्षेत्र संरक्षण उपभोक्ता समिति गठन गरेर संरक्षणको काम सुरु गरेको छ । स्थानीयबासीले चारैतिरको पहाडबाट बगेर आउने माटोले पोखरी पूरिदै गएपछि गत आर्थिक बर्षमा प्रदेश सरकारबाट पूर्वाधार विकास कार्यक्रमअन्तर्गत प्राप्त गरेको ४ लाख बजेटले तारबार लगाएर गाईबस्तुलाई पोखरीको जंगलमा चरिचरणमा रोक लगाएको छ । उक्त बजेटले नै शौचालयको समेत निर्माण गरेको अध्यक्ष श्रेष्ठले बताउनु भयो । 

जहदा गाउँपालिका ७ तरिगामास्थित दशगजा क्षेत्र ओगटेर भारतीयले घर निर्माण गरेको छ । उक्त ठाउँमा रहेको १ सय ७४ पिपि ६२ नम्बरको ठूलो पिलर भारतीयको आगनमा रहेको छ । भारतीय पक्षले दशगजामै ढलान सडकका साथै मन्दिर समेत निर्माण गरेको छ । जिल्लास्थित ६३ किलोमिटर सीमा क्षेत्रमा १४ ठाउँमा भारतीयहरुले दशगजा क्षेत्र ओगटेर घर टहरा निर्माण गरेको मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनुभयो । धेरै पहिलेदेखि नै दशगजा क्षेत्रमा भारतीयहरुले घर टहरा निर्माण गरेर बसेको तर, अहिले नयाँ घर टहरा निर्माण गर्ने क्रम रोकिएको उहाँले बताउनुभयो । प्रजिअ भुजेलले दशगजामा रहेको घर टहरा हटाउनका लागि दुई पक्षीय बैठकमा माथिल्लो निकायमा पहल गरेर हटाउने सहमति अनुसार पहल भइरहेको बताउनुभयो । 

ग्रामथान गाउँपालिकास्थित गिधनीया टोलका स्थानीयले तार राख्ज गर्न नदिएपछि दुहबी–कटहरी सवस्टेसनको ३३ केभी प्रसारण लाइनको विस्तार हुन सकेको छैन । प्रसारण लाइन निर्माणका लागि सामग्री सहित सोमबार आएका प्राविधिकलाई स्थानीयले फर्काइदिएका छन् । गिधनीयाबासीले स्थानीय भक्कुलाल विश्वासको संयोजकत्वमा संघर्ष समिति गठन गरी गाउँबाट जाने प्रशारण लाइन निर्माणको विरोधमा उत्रेका छन् । गाउँबाट ३३ केभि प्रशारण लाइन जाँदा स्थानीयबासीलाई शारीरिक क्षति पुग्नुका साथै जग्गाको मूल्यांकन घट्ने भएकोले प्रसारण लाइनको रुट परिवर्तन गर्न माग गर्दै आएको स्थानीयले बताए । यसअघि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सांसद अमनलाल मोदी, कुलमान घिसिंग, ग्रामथान गाउँपालिका अध्यक्ष शिबनारायण माझीले गरेको सहमति अनुसार प्राविधिकहरुले प्रशारण लाइनको काम सुरु गर्न गएका थिए । 

विराटनगर ४ की गीता पन्तको धनपालथान गाउँपालिका ७ स्थित साढे ८ बिघा जग्गा अझै तत्कालीन माओवादीका नेताहरुले कब्जा गरेर हकभोग गर्न दिएका छैनन् । पन्तले मोरङको निर्वाचन क्षेत्र ५ बाट निर्वाचित सांसद शिबकुमार मण्डलले आफ्ना कार्यकत्र्ताहरुलाई कब्जा गर्न लगाएको आरोप लगाइन् । तत्कालीन माओवादीले शान्ति वार्तामा आइसकेको बेला आफ्नै बुवाको नाममा रहेको उक्त जग्गा बैंकबाट लिलाम भई आमाको नाममा नामसारी भएर आएपछि ३० लाखमा खरिद गरेदेखि हकभोग गर्न नदिएको पन्तको भनाई छ । सांसद मण्डलले जग्गा खनजोत गर्दै आएका स्थानीय रामप्रसाद यादवलाई केही पनि नदिई जग्गा खान नमिल्ने भएकोले हकभोग गर्न दिएको बताउनुभयो । 


प्रतिक्रिया