प्रस्तावित उम्मेदवारविरुद्ध उजुरी दिन सिफारिस समितिको सूचना

रेडियो कान्तिपुर संवाददाता

मंसिर २, २०७६ | काठमाडौं

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका प्रस्तावित उम्मेदवारविरुद्ध उजुरी दिन सिफारिस समितिले सूचना जारी गरेको छ । प्रस्तावित ६१ जना विरुद्ध कुनै उजुरी भए ५ दिनभित्र समितिको सचिवालयमा आइपुग्ने गरी उजुरी दिन सूचना जारी गरेको हो ।

सो आयोगका पदाधिकारी हुने ५० जनाले आफैं निवेदन दिएका हुन भने विभिन्न संघसंस्थाले चार जनाको नाम सिफारिस गरेका थिए । समिति आफैंले ७ जनाको नाम थप गरी उजुरीको सूचना जारी गरेको हो । 

समितिले श्रीकृष्ण सुवेदी, मञ्चला झा, लोकेन्द्र मल्लिक, आइबहादुर गुरुङ, नरकुमारी गुरुङ, गणेशदत्त भट्ट र गंगाधर अधिकारीको नाम थप गरेको हो ।

सत्य निरुपण तथा मेलमिलाप आयोगका लागि ३० जना, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि १२ जना र दुबै आयोगका लागि १९ जनाको निवेदन परेको समिति सदस्य शर्मिला कार्कीले जानकारी दिनुभयो ।

दुबै आयोग गत चैतदेखि नै पदाधिकारीबिहीन भएपनि दलीय स्वार्थ बाझिएका कारण पदाधिकारी नियुक्त हुन सकेको छैन । पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा रहेको सिफारिस समितिले गठनको ७ महिनापछि बल्ल उम्मेदवारको नामावली संकलन गरेर उजुरीका लागि सूचना जारी गरेको छ । 

यसैबीच, जवाफदेही निगरानी समितिले सिफारिस समितिले सूचना जारी गरेकोप्रति असन्तुष्टि जनाएको छ । सो समितिले आज विज्ञप्ति जारी गरी सिफारिस समितिले थप गरेका नामप्रति असन्तुष्टि जनाएको हो । दलीय सहमति भएको समाचार सार्वजनिक भएको केही दिन बित्न नपाउँदै सफारिस समितिले जारी गरेको सूचनाले छनौट प्रक्रियामा हुने निष्पक्षता र विश्वसनीयतामा प्रश्न उठ्ने निगरानी समितिले जनाएको छ ।

समितिका संयोजक चरण प्रसाईका तर्फबाट जारी भएको विज्ञप्तिमा भनिएको छ, ‘ऐन संशोधनपछि मात्र आयोग गठन प्रक्रिया अगाडि बढाउन दिइएको सुझावलाई पूर्णत: बेवास्ता गर्नु आपत्तिजनक छ ।’ सो समितिले पदाधिकारी सिफारिस प्रक्रियामा सहभागी नहुन राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह समेत गरेको छ । 


प्रतिक्रिया