नेपाल इमर्जिङ टिम्स कप क्रिकेटको समूह चरणबाट बाहिरियो

रेडियो कान्तिपुर संवाददाता

मंसिर २, २०७६ | काठमाडौं

नेपाल, बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । आयोजक बंगलादेशसँग आज ८ विकेटले पराजित भएको नेपाल दोस्रो हार व्यहोर्दै समूह चरणमै रोकिएको हो ।

शतप्रतिशत नतिजासँगै ६ अंकमा शीर्ष स्थानमा रहेको बंगलादेश समूह बी को विजेता र इण्डिया उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् । समूह बीको अर्को खेलमा आज हङकङलाई १ सय २० रनले पराजित गर्दै ४ अंकमा इण्डिया उपविजेता बनेको हो ।

हङकङ् अंकबिहीन बन्दा नेपाल २ अंकमा तेस्रो स्थानमा रह्यो । हङकङलाई ४० रनले हराएको नेपाल इण्डियासँग ७ विकेटले पराजित भएको थियो । समूह एबाट पाकिस्तान ६ अंकमा विजेता र अफ्गानिस्तान ४ अंकमा उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् ।

आजै भएको खेलमा अफ्गानिस्तानले श्रीलंकालाई ७ विकेटले र पाकिस्तानले ओमानलाई १ सय ४७ रनले पराजित गरे । सेमिफाइनलमा पर्सि बुधबार पाकिस्तान र इण्डिया तथा बिहीबार बंगलादेश र अफ्गानिस्तानबीच प्रतिस्पर्धा हुनेछ । 

ढाकास्थित साभर क्रिकेट मैदानमा आज नेपालले दिएको १ सय ३९ रनको सामान्य लक्ष्य घरेलु टोली बंगलादेशले २४ ओभरमा २ विकेट गुमाएर भेट्टायो । उसको जितमा नजमुल हुसेन सान्तोले नटआउट ५९ र मोहमद नैईमले ४५ रन बनाए ।

करण केसी र सुसन भारीले समान एक एक विकेट लिए । पहिला व्याटिङ गरेको नेपाल ४४ ओभर ३ बलमा १ सय ३८ रनमा अलआउट भएको थियो । नेपालका लागि सोमपाल कामीले ३८ र क्याप्टेन ज्ञानेन्द्र मल्लले २२ रन बनाएका थिए । 


प्रतिक्रिया