नवाज सरिफ उपचारका लागि लण्डनमा

मंसिर ३, २०७६

भ्रष्टाचार मुद्दामा दोषी ठहर भई जेल सजायँ खेपिरहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफलाई उपचारका लागि बेलायत लगिएको छ । मिर्गौला, रगत र मुटुमा समेत समस्या देखिएपछि उनलाई उपचारका लागि एयर एम्बुलेन्स मार्फत लण्डन पठाइएको पाकिस्तानी अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

लाहोरको उच्च अदालतले शरिफमाथिको यात्रा प्रतिबन्ध फुकुवा गर्न गत शनिबार आदेश दिएको थियो । अदालतको सो आदेशपछि सरकारले हिजो शरिफमाथिको प्रतिबन्ध फुकुवा गरेको थियो । यद्यपि, इमरान खान नेतृत्वको वर्तमान सरकार शरिफलाई रिहा गर्न अनिच्छुक थियो ।

७ वर्षको जेल सजायँ पाएका पूर्वप्रधानमन्त्री सरिफले १२ महिना भन्दा कम मात्र सजाय काटेको भन्दै सरकारले शरिफलाई विदेश जान दिने अनुमति प्रदान गर्नुअघि ४ करोड ४० लाख डलर बराबरको क्षतिपूर्ति पत्रमा हस्ताक्षर गराउन चाहेको थियो ।

तर, अदालतले कुनै शर्तमा हस्ताक्षर नगरी नै यात्रा अनुमति प्रदान गर्न आदेश दिएपछि सरिफ लण्डन जान सफल भएका हुन् । ३ कार्यकाल प्रधानमन्त्री भएका शरिफको मिर्गौलामा समस्या देखिनुका साथै रगतमा प्लेटिलेट्स न्यून भएको पाईएको छ ।

यस्तै, उनले मुट सम्बन्धी समस्याको औषधी पनि नियमित रुपमा सेवन गर्दै आएका छन् । उनको स्वास्थ्य जाँचपछि सरकारी र निजी अस्पतालका चिकित्सकले उनलाई तुरुन्तै सुविधा सम्पन्न अस्पतालमा उपचार गराउन आग्रह गरेका थिए । 


प्रतिक्रिया