अल्प विकसित राष्ट्र ऋणको जोखिममा 

रेडियो कान्तिपुर संवाददाता

मंसिर ३, २०७६ | काठमाडौं

दातृ निकायले प्रतिवद्धता अनुसारको रकम सहायता नगर्दा विश्वका अति कम विकसित मुलुक ऋणको जोखिममा पर्न सक्ने संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ । विकासका क्षेत्रमा पछि परेका मुलुकहरुमा आन्तरिक संचय सधैं घाटामा रहने र दातृ निकायको सहयोग समेत कम भएको अवस्थामा चर्को व्याजमा हुने पुँजीको परिचालनले ऋणको जोखिम बढ्ने राष्ट्रसंघको ठहर छ । 

काठमाडौंमा आज एक कार्यक्रमका बीच अति कम विकसित मुलुकका अवस्थाका बारेको प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रसंघले ऋणको जोखिम न्यूनीकरणका लागि आन्तरिक स्रोत साधनलाई दिगो रुपमा परिचालन गर्न सुझाव दिएको छ ।

आन्तरिक संचयमा हुने गरेको घाटा घटाउन करको दायरा फराकिलो बनाई त्यसलाई दिगो बनाउन समेत राष्ट्रसंघले आग्रह गरेको छ । विकसित मुलुकले अल्प विकसित मुलुकलाई कुल बजेटको शुन्य दशमलव २ प्रतिशत सम्म सहयोग गर्नुपर्ने प्रावधान भएपनि त्यसको आधा भन्दा पनि कमले सहयोग गर्ने गरेका कारण चर्को व्याजमा ऋण उठाउने जोखिम बढेको राष्ट्रसंघले जनाएको छ ।

 जोखिम घटाउन मुनाफा दिनसक्ने क्षेत्रमा लगानी बढाउन समेत प्रतिवेदनमा सुझाइएकोछ । राष्ट्रसंघले अति कम विकसित मुलुकलाई गरेको प्रतिवद्धता पुरा गर्नुका साथै ति देशको राष्ट्रिय प्राथमितकता क्षेत्रमा सहयोग गर्न दातृ निकायलाई निर्देशन दिएको छ । संसारका अति कम विकसित ४७ मुलुकको सूचीमा नेपाल समेत समावेश छ । 


प्रतिक्रिया