बिजुली बल्दा चेपाङ दंग

मंसिर ३, २०७६ | लमजुङ

उमेरले ४ दशक कटेकी सानुमाया चेपाङको मुहार हिजोआज हँसिलो देखिन्छ । किनकी, उनका घरमा बत्ती (बिजुली) बलेको छ । ‘बिजुली बलेपछि के भयो के भयो, मन साह्रै रमायो’ उनले खुसी दर्साउँदै भनिन्, ‘दिनमा पनि झिलिली हुँदो रहेछ, रातमा पनि झिलिली हुँदो रहेछ ।’

छेवैको आरती छेपाङ पनि बिजुली बलेपछि कम खुसी छैन । आँगनमा सानो सोलार प्लेट पनि छ । उनका अनुसार जोडेको ३ महिनामा बिग्रिएको सोलार बनाउन कोही आएनन् । ‘मट्टीतेल किन्ने पैसा हुँदैन । सोलार बिग्रियो । अहिले त बिजुली आयो ।’

पुस्तौंदेखि अन्धकार बेंसीसहर नगरपालिका ११, बरबोटफाँटको चेपाङबस्ती हिजोआज रातको समय बिजुलीको झिलिमिली छ । ‘उज्यालो हुँदा मन खुशी हुँदो रहेछ । हामी त रमायौं’ स्थानीय हिरामाया चेपाङले भनिन्, ‘पहिले त टुकी बाल्थ्यौं । मट्टीतेल सकिने बेलामा अँध्यारो हुन्थ्यो । अहिले त झिलिमिली छ । दिउँसो जस्तै मान्छे पनि राम्रोसँग चिनिन्छ ।’ सुरुमा बिजुली बल्दा सात्तो गएको उनले सम्झिइन् । ‘बिजुली बल्दा झिलिलि भयो । मत तर्सिएको’ उनले सुनाइन् ।

गाउँबाट केही पर ७० मेगावाटको मध्यमर्स्याङदी जलविद्युत परियोजना भएपनि उनीहरु बिजुलीबाट वञ्चित थिए । घर छेवैबाट अन्यत्र ठाउँमा तार टाँगिएको थियो । तर, चेपाङगाउँमा बिजुली बलेको थिएन । स्थानीय हिरामाया छेपाङका अनुसार बिजुली बलेपछि सबैलाई सहज भएको छ । ‘अहिले केटाकेटी पढ्न थालेका छन् । हामीलाई पनि क्या रमाइलो लागेको छ’ उनले भनिन् ।

स्थानीय अगुवा अमृता चेपाङका अनुसार बिजुली बाल्न गएको जेठमा पोल गाढिएको थियो । आर्थिक हैसियत केही राम्रो हुने ३ घरले यसअघि नै मिटर बाकस जडान गरी बत्ति बालेका थिए । ७ घरमा भने बेंसीसहर नगरपालिकाको सहयोगमा मिटर बक्स र बिजुली जडान गरिएको उनले बताइन् । ‘हामी धेरै समय अन्धकारमा बस्यौं । बल्ल बल्ल बत्ति बलेको छ । घरको काम गर्न र नानीबाबु पढ्न सजिलो भएको छ’ उनले भनिन् ।

बेंसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालका अनुसार चेपाङ बस्तीका घरघरमा मिटरबक्स दिइएको छ । पोल व्यवस्थापनको लागि १ लाख ३२ हजार रुपैयाँ दिइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘चेपाङ बस्ती अन्धारमा रहेको थाह पायौं । अन्धकारबाट उज्यालो प्रदान गर्न हामीले मिटर बक्सको व्यवस्था मिलायौं । अहिले अँध्यारो हटेर चेपाङ बस्तीमा उज्यालो छाएको छ ।’ 


प्रतिक्रिया