गण्डकीका तीन जिल्लामा हाइटेक नर्सरी 

मंसिर ३, २०७६ | पोखरा

गण्डकी प्रदेशका तीन जिल्लामा उच्च प्रविधियुक्त वन नर्सरी (हाइटेक) को स्थापना गरिएको छ । प्रदेश सरकारले प्रदेशका ११ वटै जिल्लामा हाइटेक नर्सरीको स्थापना गर्ने लक्ष्यअनुरुप पहिलो चरणमा परीक्षणको लागि ३ वटा जिल्लामा मात्रै सुरुवात गरेको छ । 

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता नारायण आचार्यका अनुसार स्याङ्जा, बाग्लुङ र तनहुँ जिल्लामा मात्र हाइटेक नर्सरीको स्थापना गरिएको हो । सम्बन्धित जिल्लाका डिभिजन वन कार्यालयको वार्षिक कार्यक्रममा समेटेर नै योजनाबद्ध रुपमा अगाडी सारिएको छ । मन्त्रालयले आगामी बर्षमा ११ वटै जिल्लामा यस्तो नर्सरी बनाउने योजना तय भएको जनाएको छ । 

स्याङ्जाको डिभिजन वन कार्यालयले आर्थिक वर्ष ०७५/७६ को स्वीकृत वार्षिक कार्यक्रमानुसार उच्च प्रविधियुक्त नर्सरी स्थापना गरेको थियो । डिभिजन प्रमुख कोमलराज काफ्लेका अनुसार प्रदेश सरकारले स्थापना र संचालनको लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

सोही रकमबाट पुतलीबजार नगरपालिका–३ पुतलीखेतस्थित सव–डिभिजन वन कार्यालयको परिसरभित्र १२ मिटर लामो र ८ मिटर चौडाईको हरियो घर बनाई, सोही साइजको छहारी निर्माण गरिएको कार्यालयले जनाएको छ ।

बिरुवाका लागि आवश्यक स्थायी पानीको व्यवस्था, आवश्यक अन्य पुर्वाधार निर्माण जस्तै: मुख्य गेट निर्माण, स्टोर हाउस निर्माण, पर्खाल निर्माण, नाला निर्माण, सिड बेड, र पोली बेड निर्माण, विरुवा सिंचाईको लागि पानीको व्यवस्था, पुराना ब्याडमा स्थायी छहारी निर्माण, नर्सरी परिसरमा पक्की चाक्लो बाटो निर्माण गरिएको प्रमुख काफ्लेले बताउनुभयो ।  

प्रदेशका वनमन्त्री विकास लम्सालले केही दिनअघि पुतलीबजारको हाइटेक नर्सरीको उद्घाटन र निरीक्षण समेत गरेका थिए । तीनवटा जिल्लामध्ये स्याङ्जामा पहिलोपटक नर्सरीको उद्घाटन भएको मन्त्रालयले जनाएको छ । मन्त्री लम्सालले निरीक्षणको क्रममा हरियो वन नेपालको धन देखावटी मात्र रहेको बताउनुभयो । 


प्रतिक्रिया