संघीयता सफल बनाउन स्थानीय तहको क्षमता बढाउनुपर्ने : विश्व बैंक

मंसिर ३, २०७६ | काठमाडौं

नेपालको संघीयतालाई सफल बनाउन स्थानीय तहको क्षमता बढाउनुपर्ने विश्व बैंकले जनाएको छ । राजनीतिक दलका विभिन्न तहमा देखिएको तनाव कम गरी स्थानीय तहको क्षमता बढाए संघीयताको सफल कार्यान्वयनमा मद्दत पुग्ने बैंकले उल्लेख गरेको छ ।

साउथ एसिया इकोनोमिक फोकस नामक प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले संघीयतालाई लिएर आम मानिसको अपेक्षा उच्च भएपनि आवश्यक श्रोत साधनको अभावमा सेवा प्रवाहमा स्थानीय र प्रादेशिक सरकार चुकेको जनाएको छ ।

प्रतिवेदनमा भनिएको छ, '७ मध्ये ३ वटा प्रदेशले गत बर्ष विनियोजित बजेटको आधा भन्दा कम मात्र पुँजीगत खर्च गरे भने केही स्थानीय सरकार अझै निष्क्रिय प्राय: छन् ।'

विकेन्द्रीकरणको प्रभावकारिताका लागि स्थानीय र प्रादेशिक सरकारबाट राम्रो सेवा प्रवाहको सुनिश्चितता गर्दै केन्द्र सरकारले एकीकृत बजार निर्माण र सामान्य मापदण्डहरु निर्माण गर्न विश्व बैंकले सुझाव दिएको छ ।

केन्द्र सरकारले शिक्षा, स्वास्थ्य, वातावरण र अन्य क्षेत्रको मापदण्ड तय गर्नुपर्ने भन्दै विश्व बैंकले प्रभावशाली केन्द्रीय सरकार नभए विकेन्द्रीकरण विखण्डनतर्फ जाने जनाएको छ । 


प्रतिक्रिया