नेपाल र भारतबीच सीमा सुरक्षा समन्वय बैठक सुरु 

रेडियो कान्तिपुर संवाददाता

मंसिर ४, २०७६ | पोखरा

नेपाल र भारत सीमा सुरक्षा समन्वय बैठक आज पोखरामा सुरु भएको छ । बैठकमा नेपालको सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक कुमार राजेश चन्द्रा सहित २१ जनाको सहभागिता छ ।

बैठक सीमा सुरक्षाका विषयमा नियमित हो । अहिले चर्किएको कालापानी क्षेत्रको विषयमा भने बैठकमा छलफल नहुने स्रोतहरुले जनाएका छन् । बैठक शुक्रबारसम्म चल्नेछ । पोखराको दोबिल्लास्थित माउन्ट ग्लोरी रिसोर्टमा बैठक चलिरहेको छ ।

भारतीय ५ जनाको टोली मंगलबार पोखरा आइपुगेको थियो । बैठकमा अन्तरदेशीय सीमा अपराध, दशगजामा संयुक्त सुरक्षा गस्ती, सूचना आदानप्रदान लगायतमा छलफल हुनेछ ।

मुख्य बैठक आज हुने, भोलि संयुक्त टोलीले चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरीको विपद् तालिम केन्द्रको अवलोकन गर्ने र शुक्रबार काठमाण्डौमा औपचारिक रुपमा समापन हुने कार्यतालिका छ ।

यस्तो बैठक २०७५ साउन २३ र २४ मा भारतको नयाँ दिल्लीमा बसेको थियो । त्यसअघि २०६९ र २०७२ मा भारत र नेपालले पहिलो र दोस्रो बैठक आयोजना गरेका थिए । 


प्रतिक्रिया