भोजपुरमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला र पक्की पुल निर्माण सुरु

रेडियो कान्तिपुर संवाददाता

मंसिर ४, २०७६ | भोजपुुर

भोजपुरमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला र पक्की पुल निर्माणको काम सुरु गरिएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र संघीय सांसद सुदन किँरातीले संयुक्त रुपमा रंगशाला र पुलको शिलान्यस गर्नुभयो ।

भोजपुरको पिखुवा खोलामा ६ करोड रुपैयाँको लागतमा निर्माण हुने पक्की पुलले भोजपुर नगरपालिका–१२ र राप्रसाद राई गाउँपालिकाको मानेभञ्याङ जोड्ने छ । यस्तै, प्रदेश १ सरकारको शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको १४ करोड ५ लाख रुपैयाँ लागतमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण हुने भएको हो । रंगशाला निर्माणको काम विसं २०८० सम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको छ । 

शिलान्यास कार्याक्रममा मुख्यमन्त्री शेरधन राईले भोजपुरलाई नमूना जिल्ला बनाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो । मुख्यमन्त्री राईले भन्नुभयो, ‘विकासको पूर्वाधार मुख्य आधार सडक रहेको बताउँदै आफ्नो कार्यकालमा १३ वटा पक्की पुल निर्माण गर्ने गरी काम भईरहेको छ । मेरो कार्यकालमा जिल्लाका सम्पूर्ण महत्वपूर्ण पूर्वाधार निर्माण हुन्छ, भने कुनै पनि घर विद्युतको पहुँच भन्दा बाहिर हुने छैनन् ।’

विकास निर्माणका लागि बजेट अभाव नरहेको भन्दै उहाँले कामलाई प्रभावकारी ढंगले सम्पन्न गर्नु पर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री राईले भन्नुभयो, ‘हामीसँग बजेटको अभाव छैन् तर, थालिएको काम प्रभावकारी र गुणस्तरीय ढंगले सम्पन्न गराउनु आजको चुनौती हो, यसमा स्थानीय सरकारले ध्यान दिन आवश्यक छ ।’ पूर्वाधार विकास कार्यालय भोजपुर अन्र्तगत प्रदेश नं १ सरकारको ६ करोड, १३ लाख ५३ हजार रुपैयाँ लागतमा ७६ दशमलव ३ मिटर लामो मोटेरेवल पक्की पुलको शिलन्यास गरिएको हो ।

जुन पुललाई समयमै गुणस्तरीय ढंगले सम्पन्न गराउन पहल गर्ने पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले बताउनुभयो । सदरमुकामलाई दक्षिणी क्षेत्रका तीन स्थानीय तह जोड्ने यो पुल निर्माणले स्थानीयमा खुशी थपिएको छ । पक्की पुल नहुँदा खोलाबाटै सवारी साधन तार्नु पर्दा निकै सास्ती हुँदै आएको थियो ।

रामप्रसाद राई, आमचोक र हतुवागढी गाउँपालिकालाई जोड्नका साथै तराईबाट उत्तरमा किमाथान्का सम्म जोड्ने यो मुख्य सडक खण्ड हो । यसको संरक्षणमा ध्यान दिए एक सय ५० वर्ष सम्म टिक्ने विज्ञहरुको भनाई छ । पुल निर्माण सम्झौता अनुसार २ वर्ष अर्थात २०७८ असार सम्म सम्पन्न गरिसक्नु पर्नेछ । जसको निर्माणको जिम्मा मार्सेली निर्माण सेवाले लिएको छ ।


प्रतिक्रिया