माडीको सोमेश्वर पहाडमा चन्द्र सूर्य (फोटो फिचर)

रेडियो कान्तिपुर संवाददाता

मंसिर ४, २०७६ | चितवन

नेपाल भारत सीमामा रहेको माडी सोमेश्वर पहाडको सोमेश्वरगढी क्षेत्रमा अहिले भिन्न खालको चहल पहल छ । बाक्लो जंगलमा झ्याउँकिरीहरु मज्जाले कराउँछन् । तिनै झ्याउकिरीको आवाज जस्तै लाग्ने अर्को चर्को आवाज पनि त्यहाँ थपिएको छ । ग्रयाइन्डर र छिनोको छिइँइँ छिइँइ र छिनछिन आवाज आउन थालेको बुधबार ११ दिन भयो ।

अझै ६ दिन बिहान सबेरैदेखि झमक्क साँझ हुँदासम्म यो आवाज गुञ्जि रहने छ । देशका विभिन्न ठाउँका २९ जना मूर्तिकार सोमेश्वर क्षेत्रमा जुटेका छन् । त्यहाँका शिलाहरुमा उनीहरुले आफ्नो शिल्प पोखी रहेका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र माडी नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको प्रस्तर मूर्तिकला कार्यशाला कात्र्तिक २३ गते उद्घाटन भएको थियो ।

मंसिर १० मा सकिने छ । सोमेश्वर क्षेत्रमा कम्तिमा ४०/४५ वटा विभिन्न खाले मूर्तिहरु कलाकारहरुको चिनो बनेर लामो समयसम्म रहने छन् । प्रतिष्ठानको मूर्तिकला विभागले केही वर्षयता देशका विभिन्न ठाउँमा पुगेर मूर्तिकला कार्यशालाहरु गरेको छ । 

‘देशभरका मूर्तिकारलाई नयाँ नौलो ठाउँमा लगेर त्यहाँको स्थानीय परिवेश झल्कने गरेर मूर्ति बनाउन लगाउने उद्देश्यले कार्यशालाहरु हुन लागेका हुन्’ प्रतिष्ठानको मूर्तिकला विभागका प्रमुख लालकाजी लामाले भन्नुभयो, यसो गर्दा कलाकारहरु स्थानीय परिवेशसँग नजिक हुन्छन् । स्थानीयहरु कलाकारसँग जोडिन्छन् ।

चितवन घर भएपनि इन्दिरा श्रेष्ठ काठमाडौंमा बसेर मूर्तिहरु कुँद्ने गर्दछिन् । सोमेश्वरको कार्यशालामा उनी पनि सहभागी छिन् । ‘माडी थारु समुदायको मुख्य बसोबास क्षेत्र हो । घोँगी थारु समुदायको परिकार भित्र पर्दछ । त्यसैले मैले घोगीकै मूर्ति बनाउँदै छु’ इन्दिराले भनिन् । कार्यशालामा सुरुमै इन्दिराले कुँद्ै गरेको मूर्ति छ । आडैमा लालकाजी लामाले शिव पार्वतीको स्वरुपलाई आकार दिंदै छन् । 

सबैभन्दा माथि दिनेश्वर महतो भेटिन्छन् । दिनेश्वर माडी सिधुवाका बासिन्दा हुन् । उनले विशाल ढुंगामा नेपाली झण्डाको स्वरुप खडा गरेका छन् । आडैमा मुट्ठी कँसेको हात छ । ‘अब यहाँबाट डेढ दुई सय मिटर पर जानु भयो भने हामी नेपाल पार गरेर भारतभित्र पुग्छौं । यो ठाउँमा नेपालको पहिचान छर्लङ्ग झल्कियोस भनेर मैले ढुंगामा यस्तो स्वरुप बनाएको छु’ दिनेश्वरले भने ।

चितवन जस्तो सुगम जिल्लामा भईकन पनि जान आउन निकै असहज हुने ठाउँमा छ, माडी । भरतपुर हुँदै माडी जान चितवन निकुञ्जको १० किलो मिटर घना जंगल छिचोल्नु पर्दछ । अनेक खोलाहरु छन् । केही खोलाहरुमा बल्ल पुल बन्ने सुरसार छ । वर्षामा बाढी र अरु बेला जंगली जनावरहरुले आक्रान्त माडी सुगम जिल्ला चितवनको नगरपालिका भइकन पनि धेरै खाले असुविधा भोगेको ठाउँ हो ।

भरतपुरबाट माडी बसन्तपुर ४० किलो मिटर पश्चिम दक्षिणमा छ । सोमेश्वर पुग्न बसन्तपुरबाट दक्षिण तर्फ १२ किलो मिटर दूरी पार गर्नु पर्दछ । जसमध्ये पाँच किलो मिटर जंगल र उकलो पहाड छ । ठाउँ बिरानो भएपनि यहाँ एतिहासिक किल्ला छ । नेपाल र भारतका भक्तहरुले पूजा गर्दै आएको सोमेश्वर कालीकाको मन्दिर पनि छ । यो निर्जन ठाउँमा रहेको ऐतिहासिक र धार्मिक क्षेत्र हो । 

सोमेश्वर क्षेत्रमा भारतीयले सीमा मिचे भन्ने चर्चा बेला बेलामा उठ्ने गर्दछ । नेपालीहरुको चहल पहल नभएर नै भारतीयहरुको दबदबा बढेको स्थानीयहरु बताउँछन् । यसलाई चिर्न माडी नगरपालिकाले केही वर्षयता त्यहाँ धमाधम पूर्वाधारहरु बनाउँदै छ । पहिला उकालो हिँडेर मात्रै जानु पर्दथ्यो । अहिले मोटरबाटो धेरै माथि पुगेको छ । आधा घण्टा हिँडे गढी र मन्दिर पुगिन्छ । सरकारले यसलाई सय पर्यटकीय गन्तब्यमा पनि राखेको छ ।

लालकाजी लामाले भन्नुभयो, ‘हामीले यो क्षेत्रको धार्मिक, ऐतिहासिक र सामाजिक पक्ष झल्कने मुर्तीहरु बनाएका छौं । प्राकृतिक विषयहरुलाई पनि समेटेका छौं ।’ मूर्तिहरु तयार भएपछि युवादेखि पाकासम्मलाई आकर्षित गर्ने उहाँले बताउनुभयो । यी मूर्तिहरु वर्षौसम्म दुरुस्त रहने भएका कारण सामारिक महत्वको सीमा क्षेत्रमा नेपालको रुख जस्तै भएर उभिने उहाँले बताउनुभयो । 


प्रतिक्रिया