पार्टीमा भित्र र बाहिरबाट हमला भइरहेको छ : मुख्यमन्त्री पोखरेल

मंसिर ४, २०७६ | रुकुम पूर्व

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पार्टीमाथी हमला भइरहेको बताउनु भएको छ । रुकुम पूर्वको अस्थायी सदरमुकाम रुकुमकोटमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले नेकपामा पार्टी भित्र र बाहिर दुबै तर्फबाट हमला भइरहेको बताउनु भएको हो । पार्टी कमजोर बनाउनका लागि पार्टी बाहिर र पार्टी भित्रबाट घेराबन्दी भइरहेको उहाँले बताउनुभयो ।

‘नेपालका दुई ठूला कम्युनिष्ट पार्टी अलग अलग हुँदा त्यसबाट फाइदा लिने दाउमा रहेकाहरु पार्टी एक हुन बित्तिकै हमलामा उत्रिएका छन्,’ उहाँले भन्नुभयो, ‘त्यसबाट पार्टी निर्माणमा खासै असर परेको छैन र पर्दैन पनि ।’ पार्टी एकताको आधारभूत काम सकिएको भन्दै उहाँले ढिलो भएपनि पार्टी एकता सम्पन्न भएको बताउनुभयो । 

फरक प्रसंगमा मुख्यमन्त्री पोखरेलले भारतले पछिल्लो पटक सार्वजनिक गरेको नक्सा एकपक्षीय भएको समेत बताउनुभयो । सुगौली सन्धी अनुसार नेपाल र भारतको सिमाना काली नदी भएकाले भारतले काली नदी वारी राखेको क्याम्प पनि वैधानिक रहेको उहाँले बताउनुभयो ।

सुगौली सन्धि अनुसार नै पछिल्लो पटक आएको विवाद वार्ताबाट समाधान हुने उहाँले बताउनुभयो । तीन दिने जिल्ला भ्रमणको क्रममा पहिलो पल्ट हिमाली जिल्ला पुगेका मुख्यमन्त्री पोखरेलले नयाँ जिल्लालाई नमूना बनाउन प्रदेश सरकारले सक्दो सघाउने प्रतिबद्धता जनाउनुभयो ।

तीन मात्रै स्थानीय तह रहेकाले पनि विकासका कार्यक्रम अघि बढाउन यस जिल्लामा सजिलो हुने भनाई उहाँको थियो । 


प्रतिक्रिया