पार्टी एकीकरणको १८ महिना पछि कार्यविभाजन

मंसिर ४, २०७६ | काठमाडौं

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले अध्यक्षद्वयको वरियता यथावत राख्दै एकीकरणको १८ महिना पछि कार्यविभाजन गरेको छ । काठमाडौंको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज बसेको सचिवालय बैठकले केपी शर्मा ओलीलाई सरकार सञ्चालन र पुष्पकमल दाहाललाई कार्यकारी अधिकार सहित पार्टी सञ्चालनको जिम्मेवारी दिएको हो ।

स्थायित्वको सन्देश दिन प्रतिनिधि सभाको यो कार्यकालभर सरकारको नेतृत्व ओलीले नै गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । पार्टीको बैठकको अध्यक्षता दुबै अध्यक्षले गर्ने भएपनि सञ्चालनको कार्यकारी अधिकार भने दाहाललाई दिएको छ ।

पार्टी र सरकार अध्यक्षद्वयको आपसी सल्लाहमा सञ्चालन गर्ने तथा पार्टी सञ्चालन गर्दा वैधानिक व्यवस्था र कमिटी प्रणालीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय पनि नेकपाले गरेको छ । सचिवालयको आजको बैठकले अध्यक्षद्वयको कार्यविभाजन गरेसँगै पार्टी एकता अघि भएको सहमति समाप्त भएको छ ।

पार्टी एकताका समय अध्यक्षद्वयबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको थियो । सोही सहमतिलाई आधार बनाउँदै अध्यक्ष दाहालले सार्वजनिक कार्यक्रममा नै कार्यान्वयनमा जोड दिदै आउनुभएको थियो । आजको बैठकमा मन्त्रिमण्डल फेरबदलको विषयमा छलफल नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । 


प्रतिक्रिया