लैंगिक विभेद हटाउन शिक्षाको भूमिका छ : प्रधानमन्त्री

मंसिर ६, २०७६ | काभ्रे

प्रधानमन्त्री केपी शर्मा ओलीले लैंगिक विभेद हटाउन शिक्षाले भूमिका खेलेको बताउनुभएको छ । 

काठमाडौं विश्वविद्यालय (केयू) को २५ औं दीक्षान्त समारोहलाई आज काभ्रेमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आजकै दीक्षान्त समारोहले चिकित्सा क्षेत्रमा महिलाको उपस्थिती आशा जगाएको तर्क गर्नुभयो ।

शुक्रबार दीक्षित एक हजार छ सय ४ मध्ये  आठ सय ६३ महिला छन् । प्रधानमन्त्रीले आत्मविश्वासका साथ काम गर्न दीक्षितहरुलाई अनुरोध गर्नुभयो । 

प्रमुख अतिथि रहेका भारतको मणिपाल विश्वविद्यालयका अध्यक्ष डा.के रामनारायणले रोग निको पार्न मानवता हुनुपर्ने तर्क गर्दै चिकित्सकले शक्ति, आशा र मायाको सञ्चार गराउँदै स्वस्थ्य जीवन पुनप्र्राप्ती गर्न सहयोग पुर्‍याउने दाबी गर्नुभयो । उपकुलपति डा. रामकण्ठ माकजूले शिक्षा प्रणालीलाई सान्दर्भिक, सीपमूलक र उच्च गुणस्तरको बनाउनु नै सम्बोधन नगरी नहुने विषय भएको तर्क गर्नुभयो । 

समारोहमा एमसिएच, डीएम, एमडी, एमएस,  एमएससी र एसडीएसका १ सय ४८ जना, एमबीबीएसका  एक हजार ९८, बीडीएसका दुई सय १८, बीएस्सी नर्सिङ्गका एक सय १६ र बीपीटीका २४ जना दीक्षित भएका छन् ।

दीक्षित मध्ये २ सय ४६ जना भारत, भुटान, श्रीलंका, मालदिभ्स, अमेरिका र बेल्जियमका छन् । स्नातक तह एमबीबीएसमा सबै भन्दा बढी ७९ दशमलव ६७ प्रतिशत अंक ल्याउने लुम्बिनी मेडिकल कलेजका विवेक पौड्याललाई भाइस चान्सलर स्वर्ण पदक प्रदान गरियो । प्रधानमन्त्री केपी शर्मा ओलीले हस्तान्तरण गर्नुभयो । 


प्रतिक्रिया