बेंसीसहरमा अब पर्याप्त पानी

मंसिर ६, २०७६ | लमजुङ

हिउँदका समय दैनिक २ घण्टा पानी आउने लमजुङ बेंसीसहरका निजी धारमा अब चौबिसै घण्टा खानेपानी बग्ने भएको छ । धारा खोल्ने बित्तिकै पानी आउनलाई बेंसीसहरबासीले १ महिना कुर्नुपर्नेछ । बेंसीसहर नगरपालिका १० को भाचोक खोलाबाट मर्स्याङदी नदी तारेर खानेपानी ल्याउन लागिएको हो ।

बर्खायाममा समेत खानेपानीको आपूर्ति सहज हुन नसकेको बेंसीसहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले २८ करोड ८३ लाख रुपैयाँको लागतमा तयार गरेर खानेपानी आयोजना निर्माण थालेको थियो । बजारका बासिन्दाका लागि सुरु गरिएको बेंसीसहर खानेपानी सहलगानी आयोजना भ्याट सहित १६ करोड ५९ लाख २४ हजार ७ सय ७५ रुपैयाँमा निर्माण गर्न महादेव खिम्ती–पराजुली जेभीले सम्झौता गरेको थियो ।

सम्झौता बाहेक थप भ्याट सहित ३३ लाख रुपैयाँ लगानीमा मर्स्याङदी नदीमाथि झोलुंगे पुल निर्माण गरी खानेपानी पाइप तारिएको बेंसीसहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कृष्णकुमार प्रधानले बताउनुभयो । उहाँका अनुसार लागत स्टेमेटको ३० प्रतिशत उपभोक्ता र समितिले लगानी गर्नुपर्छ । २० प्रतिशत जनसहाभागिता रहेको र १० प्रतिशत अर्थात करीब ४ करोड १५ लाख रुपैयाँ बेंसीसहर नगरपालिका जमानी बसेर नागरिक विकास कोषबाट ऋण लिएको उहाँले बताउनुभयो ।

समितिका अध्यक्ष प्रधानका अनुसार आयोजना मंसिर महिनाभित्रै सकिनेछ । पुसबाट सबैका घरघरमा चौबिसै घण्टा खानेपानी आउनेछ । उहाँका अनुसार आयोजनाका निर्माणकार्य ८५ प्रतिशत सकिएको छ । २०७४ असार २१ गते सम्झौता गरेर महादेव खिम्ती–पराजुली जेभीले खानेपानी आयोजना निर्माण गरिरहेको उहाँले बताउनुभयो । 

पानीलाई बेंसीसहर ल्याउन मर्स्याङदी नदी र भाचोक खोलामै झोलुंगे पुल निर्माण गरिएको छ । भाचोक खोलाको पानी पोखरीदेखि बेंसीसहरको ठूलो पँधेराका पानी पोखरीसम्म ल्याइने ६ किलोमिटरको मुख्य पाइपलाईन डीआई पाइप बिछ्याउने कार्य करीब ५ सय मिटर बाँकी छ । बेंसीसहर बजारमा पुरानोलाई विस्थापन गरी नयाँ पाइपलाइन जडान गर्ने कार्य भइरहेको छ । यसमा निर्माण कम्पनीले करीब १५ किलोमिटर र समितिले करीब ३० किलोमिटर पाइप बिछ्याउनुपर्छ ।

आयोजनाको इन्टेक र ग्रिट च्याम्बर निर्माण गरिएको छ । प्रशोधन केन्द्रको ३ युनिटको ढलान सकिएको छ । बाँझखेतका लागि चाहिने १ लाख लिटरको खानेपानी पाखेरी निर्माण गरिएको छ । बेंसीसहरमा ८ लाख १५ हजार लिटर अट्ने २ वटा पानी पोखरीको निर्माणकार्य सकिएको छ । आयोजना निर्माण सकिएपछि प्रतिसेकेन्ड २५ लिटर (दैनिक २२ लाख ५० हजार लिटर) पानी बेंसीसहरका लागि आउने उहाँले बताउनुभयो ।

पुरानो स्रोतबाट दैनिक करीब २० लाख लिटर खानेपानी आपूर्ति छ । बेंसीसहरमा २ हजार ७ सय ७५ बढी नीजि धारा छन् । भाडामा बस्ने र अस्थायी रुपमा आउनेजाने समेतका लागि गरी दैनिक ३० लाखदेखि ३५ लाख लिटरसम्म खानेपानीको आवश्यकता छ ।

अहिलेको खानेपानी महभीरखोला, लप्लेखोला, डुढखोला, फुर्केभीर, साप्ली, ढाँडखोलाको २ ठाउँ, पुमाखोला र ठूलो पँधेरोबाट आपूर्ति गरिएको छ । अपुग भएर बेंसीसहरमै ‘डीप बोरिङ’ गरेर खानेपानी आपूर्ति गरिँदै आएको छ । नयाँ आयोजनाले २० बर्षसम्म खानेपानी आपूर्तिको समस्या नरहने दाबी समितिको छ । बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालका अनुसार बेंसीसहर वरपरका स्रोतबाट अपुग भएपछि खानेपानीका लागि नयाँ स्रोत खोजिएको हो ।

सम्झौता अनुसार गएको असार मसान्तमा सक्नुपर्ने बेंसीसहर सहलगानी खानेपानी आयोजनाको निर्माणकार्य तोकिएको समयमा नसकेपछि पुस महिनासम्म म्याद थप गरिएको छ । खानेपानी तथा ढल निकास आयोजनाका आयोजना प्रमुख रामचन्द्र काफ्लेका अनुसार खानेपानी आयोजना निर्माण गर्न ६ महिना म्याद थप भएको छ । उहाँका अनुसार खानेपानी आयोजनाको काम द्रुत गतिमा भइरहेको छ । 


प्रतिक्रिया