दशगजा क्षेत्र अतिक्रमण गरी बनाएका घरटहरा भत्काउन सुरु

मंसिर ६, २०७६ | सुनसरी

भारतले नेपालको कालापानी क्षेत्रलाई समेत समेटेर आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेपछि जारी सीमा विवादका बीच दुवै मुलुकका सशस्त्र सुरक्षाफौजले सीमा क्षेत्र दशगजा खाली गर्ने संयुक्त अभियान चलाएका छन् ।

सुनसरी र मोरङसँग जोडिएका दशगजा क्षेत्रलाई खाली गर्ने अभियान नेपालको सशस्त्र प्रहरी बल र भारतको सशस्त्र सीमा बल (एसएसबी) ले संयुक्त रुपमा चलाएका हुन् ।

हिजोदेखि सुरु अभियानका क्रममा सिमा अतिक्रमण गरेर बनाइएका नेपाल तर्फका दर्जन घर–टहरा र भारततर्फ बनाइएका आठ वटा घर–टहरा हटाउनुका साथै करीब १ कठ्ठा १० धुरमा लगाइएको तरकार बाली तथा केराखेती नष्ट गरिएको छ ।

सुनसरीको बर्जु गाउँपालिका ४ इटरी र भारत बिहार राज्यको अररिया जिल्ला सोनापुर ग्राम पञ्चायत १७ गुवारपुच्छीको बीचमा पर्ने दशगजा क्षेत्रमा बनाइएका घर टहरा हटाइएको हो । दशगजा क्षेत्रको अतिक्रमण दुबै तर्फबाट भएको पाइएपछि नेपाल–भारत अधिकारीहरुको संयुक्त बैठकको निर्णय अनुसार सो अभियान थालिएको सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालले जानकारी दिनुभयो ।

 

सुनसरीको सीमा क्षेत्रबाट २३ वटा सीमा स्तम्भ हराएका छन् । सीमा स्तम्भ नै हराएपछि अतिक्रमण भएर घरटहरा निर्माण तथा खेती गरिएकालले सुनसरी र मोरङ दक्षिणमा भारतसँग जोडिने दशगजा क्षेत्र पहिचान गर्न समेत मुस्किल भएको सशस्त्रका एसपी ढकालले बताउनुभयो । 


प्रतिक्रिया