ढुक्क भएर मतदानमा सहभागी हुन आयोगको आग्रह 

रेडियो कान्तिपुर संवाददाता

मंसिर ६, २०७६ | काठमाडौं

आसन्न उपनिर्वाचनमा ढुक्क भएर मतदानमा सहभागी हुन निर्वाचन आयोगले आग्रह गरेको छ । गृह मन्त्रालयका सचिव प्रेम कुमार राई सहित चार वटै सुरक्षा निकार्यका प्रमुखसँगको छलफल पछि आयोगले कुनै किसिमको डर त्रासमा नपरी ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेको हो ।

निर्वाचनसँग सम्वद्ध कर्मचारी एवम सरोकारवालालाई निश्चिन्त भएर निर्वाचनसँग सम्वन्धित गतिविधीमा सरिक हुन पनि आयोगले आह्वान गरेको छ । काठमाडौंको कान्तिपथ स्थित आयोगको कार्यालयमा भएको छलफलमा गृह मन्त्रालयका अधिकारीले विद्यमान सुरक्षाको अवस्थाको सुक्ष्म विश्लेषण गरी सुरक्षा व्यवस्था तर्जुमा गरिएको जानकारी गराएका थिए ।

सुरक्षा निकायका प्रमुखले उपनिर्वाचनमा उम्मेदवार, निर्वाचनसँग सम्वन्धित कर्मचारी, मतदाता लगायत सरोकारवाला पक्षको भरपर्दो सुरक्षा व्यवस्था गरिएको जानकारी गराएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो ।

यही मंसिर १४ गते हुने उपनिर्वाचनमा गृहमन्त्रालयको समन्वयमा सबै सुरक्षा निकायको परिचालन गर्ने उच्चस्तरीय सुरक्षा समितिको तयारी छ । उपनिर्वाचनमा मतदान आउन अब ८ दिनमात्र बाँकी छ । चुनावी चहलपहलबारे पाँचथरबाट सहकर्मी लक्ष्मी गौतमको यो सामाग्री । 


प्रतिक्रिया