घरदैलोमा सेवा पुगे भ्रष्टाचार घट्ने सरोकारवालाको भनाई

मंसिर १७, २०७६ | बुटवल

नागरिकको घरदैलोमा सेवा पुर्‍याउने र नागरिकले आवश्यकता बोध गरेका योजना कार्यान्वयनमा लैजाने हो भने अधिकांश अनियमितता घट्ने सरोकारवालाले बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज रुपन्देहीको बुटवलमा आयोजना गरेको अन्तरक्रियामा नागरिकको घरदैलोमा पुग्नुपर्ने सेवालाई खुम्चाउँदा अनियमितता बढेको सरोकारवालाले बताएका हुन् ।

अख्तियारका प्रमुख आयुक्त नविनकुमार घिमिरेले जनताका सेवाग्रही र सेवा प्रदायक बीचमा अर्को मध्यस्थकर्ता बनाउँदा अनियमितता र भ्रष्टाचार संस्थागत बन्दै गएको बताउनुभयो । राजनीतिक दलहरुले चुनावलाई सरल र अनुसाशित बनाउने तथा पदीय स्वार्थ नराख्ने हो भने माथिल्लो तहमा हुने भ्रष्टाचार घट्ने उहाँको भनाइ थियो । 

मुख्यमन्त्री शंकर पोखरेलले सार्वजनिक क्षेत्रलाई जवाफदेही बनाउन अख्तियारले नागरिक सरोकारका विषयमा अझबढी निगरानी बढाउन सुझाव दिनुभयो । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव मधु मरासिनीले यातायात, मालपोत जस्ता धेरै भीड हुने कार्यालयलाई तल्लो तहसम्म विस्तार गर्न र अनलाइन सेवा बढाउन सके अनियमितता कम हुने बताउनुभयो ।

मालपोत कार्यालय बुटवलका प्रमुख केशवराज भट्टराईले कम जनशक्ति, दलीय स्वार्थ र दबाबमा काम गर्दा पनि अनियमितता हुने र त्यसमा कर्मचारी पर्ने गरेको बताउनुभयो । 


प्रतिक्रिया