मुलुकभर ९ लाख ८ हजार बेरोजगार, महिला भन्दा पुरुषको संख्या बढी 

रेडियो कान्तिपुर संवाददाता

वैशाख १३, २०७६ | काठमाडौं

- मुलुकमा बेरोजगारीको संख्या ११ दशमलव ४ प्रतिशत पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागको तथ्यांकअनुसार यो बर्ष १५ वर्ष वा सो भन्दा बढी उमेर समूहको जनसंख्या २ करोड ७ लाख ४४ हजार छन् । ती मध्ये ७० लाख ८६ हजार जनसंख्या रोजगारीको क्षेत्रमा रहेका छन् ।

अन्तर्राष्ट्रिय श्रम तथ्यांकको पछिल्लो परिभाषाअनुसार रोजगारीमा रहेको व्यक्ति हुन तोकिएको अवधिमा १ घण्टा तलव÷ज्याला पाउने काम गरेको वा नाफा नोक्सान आफै बेहोर्ने गरी सञ्चालित कुनै व्यवसायमा संलग्न भएको हुनुपर्छ । रोजगारीको पछिल्लो परिभाषाअनुसार तथ्यांक संकलन गर्दा यो बर्ष बेरोजगारको संख्या ९ लाख ८ हजार रहेको विभागको तथ्याङकले देखाएको छ ।

रोजगारको परिभाषामै परिवर्तन आएकोले पनि यस वर्ष बेरोजगारको संख्यामा समेत परिवर्तन आएको विभागका घरपरिवार सर्वेक्षण शाखाका तथ्याङ्क अधिकृत पृथ्वी विजयराज सिजापतिले बताउनुभयो । अन्तर्राष्ट्रिय श्रम संगठनले श्रम तथ्यांकका अवधारणा, परिभाषा, मापन विधि लगायतका आधारमा समयअनुसार रोजगारीको मापदण्डमा परिवर्तन गर्दै आएको छ । विगतमा आफ्नै प्रयोगका लागि काम गर्नेलाई समेत रोजगारको सूचीमा राख्ने गरेकोमा यसपटक भने केही परिवर्तन गरिएको विभागले जनाएको छ ।  

बेरोजगारमध्ये महिलाभन्दा पुरुषको संख्या बढी रहेको विभागको तथ्याङक रहेको छ । सबैभन्दा बढी पुरुष ५ लाख ११ हजार बेरोजगार छन् । ३ लाख ९७ हजार महिला बेरोजगार रहेको  तथ्याङ्क विभागको छ । श्रमशक्ति भन्दा बाहिरको जनसंख्या १ करोड २७ लाख ५० हजार रहेको विभागले जनाएको छ । जसमध्ये पुरुषको संख्या ४२ लाख ५० हजार र महिला ८५ लाख रहेको उल्लेख छ । श्रमशक्तिको औषत आम्दानी १७ हजार ८ सय ९ रुपैँया“ छ । श्रमशक्तिले पाउने पारिश्रमिकमा पनि विभेद रहेको विभागको प्रतिवेदनमा उल्लेख छ ।  पुरुषले १९ हजार ४ सय ६४ र महिलाले १३ हजार ६ सय ६० रुपैँया आम्दानी गरेको उल्लेख छ । जसअनुसार महिलाले पुरुषको तुलनामा औषत मासिक ५ हजार ८ सय ३४ रुपैँया कम तलव पाउने गरेको विभागले जनाएको छ ।

रोजगारीमा रहेका जनसंख्यामध्ये ६९ प्रतिशत सहरमा र ३१ प्रतिशत ग्रामीण क्षेत्रमा रहेको जनाइएको छ । रोजगारीमा रहेका पुरुषमध्ये सहरमा ६८ प्रतिशत र ग्रामीणमा ३२ प्रतिशत रहेका छन् । यस्तै, रोजगारीमा रहेका महिलाहरुमध्ये ७० प्रतिशत सहरमा र ३० प्रतिशत ग्रामीण क्षेत्रमा रहेको उल्लेख छ। 


प्रतिक्रिया