प्रदेशमा बजेट : कृषि, पर्यटन र पूर्वाधार विकास प्राथमिकतामा 

असार १, २०७६ | प्रदेश व्युरो

प्रदेश सरकारहरुले आगामी आर्थिक वर्षका लागि आय–व्ययको विवरण आज सार्वजनिक गरेका छन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार प्रदेश सरकारहरुले आज असार एक गते एक साथ बजेट ल्याएका हुन् । प्रदेश सभा बैठकमा बजेट सार्वजनिक गर्दै उनीहरुले कृषि, पर्यटन, भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेका छन् । केही प्रदेशले मात्र शिक्षा र स्वास्थ्यमा उल्लेख्य बजेट विनियोजन गरेका छन् । प्रदेश ३ ले सवैभन्दा ठूलो र महत्वकांक्षी ४७ अर्ब ६० करोडको बजेट ल्याउँदा सुदुर पश्चिम प्रदेशले २८ अर्ब १६ करोडको सानो आकारको बजेट ल्याएको छ ।  

प्रदेशको एकको प्राथमिकतामा शिक्षा पनि

प्रदेश एक सरकारले आगामी आर्थिक बर्ष २०७६-७७ का लागि ४२ अर्ब २० करोड ४ लाख १२ हजार विनियोजन गरेको छ ।  प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले प्रस्तुत गरेको बजेटमा कूल बजेटको ४३ दशमलव ९ प्रतिशत चालु तर्फ, १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार र पूंजीगत तर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार रुपैयाँ बिनियोजन गर्नुभएको छ । बितीय व्यवस्थापन तर्फ ८ करोड, अन्तर सरकारी हस्तान्तरणका लागि ९९ करोड ९९ लाख ९८ हजार बिनियोजन गरिएको छ । आन्तरिक स्रोतबाट ३ अर्ब ८६ करोड, राजश्व बाँडफाँडबाट १० अर्ब ५२ करोड, अनुदानबाट २१ अर्ब २१ करोड र ६ अर्ब ५९ करोड चालु आर्थिक बर्षको नगद मौजदात रहने अनुमान गरिएको मन्त्री आङबोले बताउनुभयो । बजेटमा कृषि, पर्यटन, उद्योग र शिक्षालाई प्राथमिकतामा राखिएको छ । 

प्रदेश २ मा शिक्षा र स्वास्थ्यमा उल्लेख्य बजेट

प्रदेश २ ले ३८ अर्ब ७५ करोड ७० लाख ६१ हजार रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले प्रदेश सभामा प्रस्तुत गर्नुभएको बजेटमा शिक्षा, स्वास्थ्य जस्ता विषयलाई प्राथमिकता दिइएको छ । 

सवै भन्दा ठूलो बजेट प्रदेश ३ मा 

प्रदेश ३ सरकारले आगामी आर्थिक वर्षका लागि ४७ अर्ब ६० करोड ८७ लाख ८६ हजार रुपैयाँ छुट्टयाएको छ । विनियोजित मध्ये चालुतर्फ २४ अर्ब ४६ करोड ७९ लाख र पूजीगत तर्फ २२ अर्ब ८३ करोड ९८ लाख ९६ हजार विनियोजन भएको छ । यस्तै ३० करोड वित्तीय व्यवस्थापनमा खर्च गर्ने उल्लेख छ । खर्च बेहोर्ने स्रोत राजश्वबाट १५ अर्ब ४९ लाख ४९ हजार, सरकारी अनुदानबाट १८ अर्ब ६ करोड १३ लाख र अन्य राजश्व ७ अर्ब ३० करोड हुने बजेटमा उल्लेख छ । 


गण्डकी प्रदेशमा बजेटको आकार बढ्यो

गण्डकी प्रदेशले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजार रुपैयाँ विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पूर्वाधार विकास, पर्यटन, कृषि, उर्जा, उद्योग, सामाजिक सुरक्षा जस्ता विषय समेटेर बजेट प्रदेश सभामा प्रस्तुत गर्नुभएको हो । 

प्रदेश ५ मा छरिएको बजेट

प्रदेश ५ सरकारले कृषि, र पूर्वाधारलाई प्राथमिकता दिंदै आगामी वर्षका लागि ३६ अर्ब ४१ करोड ६० लाख रुपैंयाको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय समेत सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभामा बजेट सार्वजनिक गर्दै प्रदेश सरकारका धेरै संगठन संरचना समेत तयार भएकाले आगामी वर्षको बजेट सहज कार्यान्वयन हुने बताउनु भयो । बजेटमा चालु खर्च तर्पm १३ अर्ब ४५ करोड ५ लाख र पुंजिगत तर्पm १८ अर्ब ५७ करोड ६४ लाख विनियोजन गरिएको छ । सरकारले चालु वर्षका मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम, स्मार्ट कृषि गाउँ, कृष्णसेन जिवराज आश्रित प्रादेशिक मार्ग, लगायतका योजनालाई प्राथमिकताका साथ अघि सारेको छ । 

त्यस्तै कृषिमा नगदेवाली मिसन कार्यक्रम र कृषिकर्मी रोजगार सिर्जना कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ । बजेटको ठुलो अंश भौतिक पूर्वाधार निर्माणमा छ । प्रदेश सरकारले संसद विकास कोषमा कुनै रकम बिनियोजन गरेको छैन । तर, प्रदेश सभा सदस्यको सिफारिसमा प्रति योजना १० लाखका दरले ६ योजनाका लागि प्रति सांसद ६० लाख रुपैया उपलब्ध गराउने गरी बजेटमा व्यवस्था गरेको छ । गत वर्ष सरकारले त्यस्ता योजनाका लागि ५० लाख रुपैया उपलब्ध गराएको थियो ।
'समृद्ध कर्णाली सुखी कर्णालीवासी' 

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ३४ अर्ब ३५ करोड ३४ लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आज प्रस्तुत गर्नुभएको बजेटमा २१ अर्ब २९ करोड ३७ लाख पूजीगत खर्च र १३ अर्ब ५ करोड ९६ लाख चालु खर्च रहेको छ । प्रदेश सरकारले आन्तरिक राजस्व २५ करोडमात्र उठ्ने अनुमान गरेको छ । चालु आर्थिक वर्षको लागि प्रस्तुत बजेटमा यो रकम ५० करोड अनुमान गरिएको थियो । कर्णाली प्रदेश सरकारले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेको छ । आफ्नो प्रदेश आफै बनाऔं, समृद्ध कर्णाली सुखी कर्णालीवासी जस्ता नारा बजेटमा समेटिएको छ । सरकारले आगामी आर्थिक वर्षमा स्थानीय तहसँग सहकार्यको नीति बलियो बनाएको छ । यसको लागि २ अर्ब ६० करोड रुपैयाँ बिनिायोजन गरिएको मन्त्री ज्वालाले बताउनुभयो । 

सवैभन्दा सानो आकारको बजेट सुदुरपश्चिममा 

सुदुर पश्चिम प्रदेशले आगामी आर्थिक वर्षको लागि २८ अर्ब १६ करोड, २० लाख रुपैयाँ विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री झपड बोहोराले प्रदेश सभामा पेस गर्नुभएको बजेटमा कृषि, पूर्वाधार, पर्यटनका क्षेत्रलाई प्राथमिकता दिइएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने बजेट वितरणमूखि भएको भन्दै आलोचना गरेको छ । 
 


प्रतिक्रिया