एघार महिनामा करीब आठ खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रियो

श्रावण ४, २०७६ | काठमाडौं

गत आर्थिक वर्षको एघार महिनामा करीब आठ खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११ महिने ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ विवरण सार्वजनिक गर्दै मुलुकमा सात खर्ब ९९ अर्ब दुई करोड रेमिट्यान्स भित्रिएको उल्लेख हो ।  

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह १७ दशमलव ५ प्रतिशतले वृद्धि भएको हो ।  अघिल्लो वर्ष सोही अवधिमा विप्रेषण आप्रवाह ७ दशमलव ३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा भने विप्रेषण आप्रवाह ८ दशमलव १ प्रतिशतले वृद्धि भएको छ । 

अघिल्लो वर्ष सोही अवधिमा यस्तो  आप्रवाह ९दशमलव ७ प्रतिशतले बढेको थियो ।  यस्तै समीक्षा अवधिमा खुद ट्रान्सफर १६ दशमलव ६ प्रतिशतले वृद्धि भई  नौ खर्ब पाँच अर्ब १४ करोड  रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्राप्ति शून्य दशमलव १ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।

यसैबीच अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने ३७ दशमलव ३ प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्षको त्यही अवधिमा सो संख्या ८ दशमलव २ प्रतिशतले घटेको थियो । 

पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या  भने समीक्षा अवधिमा ५ दशमलव ४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो संख्या १ दशमलव ६ प्रतिशतले घटेको थियो ।


प्रतिक्रिया