जनकपुर विमानस्थलमा रिफ्यूलिङ सेवा सुरु

श्रावण १०, २०७६ | काठमाडौं

नेपाल आयल निगमले धनुषास्थित जनकपुर विमानस्थलमा आजबाट इन्धन भर्ने रिफ्यूलिङ सेवा सुरु गरेको छ । प्रदेश २ मा रात्रिकालिन हवाई सेवा विस्तारका लागि निगमले जनकपुर विमानस्थलमै इन्धन भर्ने रिफ्यूलिङ सेवा सुरु गरेको हो ।

जनकपुर विमान स्थलमै इन्धन भर्ने सुविधा उपलब्ध भएपछि जहाजहरुलाई काठमाडौं तथा विराटनगर सम्म पुगेर हवाई इन्धन भर्नुपर्ने बाध्यता अन्त्य भएको छ । यसअघि, काठमाडौं–जनकपुर–काठमाडौं उडान भर्ने विमानहरुले दोहोरो रुटका लागि काठमाडौंमै पुगेर हवाई इन्धन भर्नुपर्ने बाध्यता थियो ।

हालका लागि विमानस्थलमा १६ हजार लिटर क्षमताको रिफ्यूलिङ सेन्टर सञ्चालनमा ल्याएको हो । निगमले सञ्चालनमा ल्याएको रिफ्यूलिङ सेवाको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले उद्घाटन गर्नुभयो ।

जनकपुर विमान स्थलमा दैनिक चार वटा नियमित उडान हुँदै आएको छ । जनकपुर विमान स्थलमै इन्धन हवाई इन्धन भर्ने सेवा सुरु भएसँगै एयरलाइन्सहरुलाई थप सहज हुने विश्वास निगमको छ । 


प्रतिक्रिया