नेप्से उकालो लाग्यो, कारोबार घट्यो

श्रावण २२, २०७६ | काठमाडौं

धितोपत्र बजारमा आज सामान्य अंकले सुधार देखिएको छ । केही समय देखि लगातार ओरालो लागेको सेयर बजारमा आज सामान्य अंकले सुधार देखिएको हो । बजार परिसूचक नेप्से आज २ दशमलव ७५ अंकले बढेर १ हजार २ सय ४८ दशमलव ४८ अंकमा पुगेको छ ।

नेप्से उकालो लागेपनि कारोबार रकममा भने हिजाको तुलनामा झण्डै १० करोड रुपैयाँले कमी आएको छ । नेप्सेमा हिजो ४५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । कारोबार भएका कम्पनी समूहका उपसूचक मध्ये, विकास बैंक, जलविद्युत र म्यूचल फण्ड बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचक उकालो लागेको छ ।

सबैभन्दा बढी, जीवन बीमा कम्पनी समूहको उपसूचक २६ दशमलव ३, वित्त समूहको २२ दशमलव ५५ र निर्जीवन बीमा कम्पनी समूहको उपसूचक २२ दशमलव ३ अंकले बढेको छ ।

नेप्सेमा आज कुल १ सय ७२ कम्पनीका ५ हजार ४ सय १३ कारोबारबाट ११ लाख ३८ हजार ६ सय ३९ कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, ३६ करोड ८६ लाख ४५ हजार ६ सय ६९ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

कारोबार रकमसँगै हिजोको तुलनामा आज सेयरको कारोबारमा पनि गिरावट आएको छ । नेप्सेमा हिजो १४ करोड ४९ लाख ६ सय ९७ कित्ता सेयर किनबेच भएको थियो । नेप्सेमा आज कृषि विकास बैंकको सबैभन्दा बढी कारोबार भएको छ ।  


प्रतिक्रिया