३ महिने वर्षावास सम्पन्न (फोटोफिचर)

कार्तिक १६, २०७७ | कपिलवस्तु

बुद्ध धर्मावलम्वीको महत्वपूर्व पर्व ३ महिने वर्षावास सकिएको छ । कोरोना भाइरसको संक्रमणका कारण यसवर्ष थोरै भिक्षु मात्र वर्षावास बसेका थिए । ९ विदेशी भिक्षु सहित ११ जना नेपाली भिक्षु वर्षावास बसेका थिए । 

लुम्बिनीस्थित म्यानमार गोल्डेन टेम्पलमा रहेको उपोषत सीमा गृह (भिक्षुहरुको पवित्र स्थल) पवारन पूजासँगै उनीहरुको वर्षावास सम्पन्न भएको हो । वर्षावास बस्नाले बौद्ध धर्मको मेरुदण्ड विनय कर्म पालन गर्दा नजानेर भए–गरेका त्रुटि कमजोरीबाट पाप नलागि क्षमादान पाउने हुँदा भिक्षु–भिक्षुणी वर्षावास बस्ने गर्छन् । वर्षावास बस्ने भिक्षुले पुण्य संचय गर्ने जनविश्वास छ । 

वर्षावासका बेला सॉझ–बिहान ध्यान बस्ने र परित्रान पाठ गर्ने गर्दछन् । त्यस बेला बुद्ध गुन, धर्म गुन, सँग गुन र धर्म देशना गर्दै पूजाआजा गरिन्छ । वर्षावासमा बिहान एक छाक खाना खाने गर्दछन् । सकेसम्म स्थानीय बासिन्दासँग भिक्षा मागेर खाने गर्दछन् । 

वर्षावास सकिएको एक महिना भित्र कठिन चिवर दान गरिन्छ । अनुशासित र नियममा बसेर वर्षावास बस्ने गर्ने भिक्षुलाई भिक्षु संघले दिएको पहेलो बस्त्र (चिवर) प्रदान गरिने अखिल नेपाल भिक्षु महासंघ अध्यक्ष भिक्षु मैंत्री महाअस्वीरले बताउनुभयो । 

असारदेखि असोज पूर्णिमा ३ महिनासम्मलाई वर्षावास भनिन्छ । तर, यसवर्ष अधिक मास परेकाले एक महिनापछि कार्तिक पूर्णिमासम्म वर्षावास रहेको थियो । अब मंसिर पूर्णिमासम्म कठिन चिबर दान गरिन्छ । यस वर्ष थाईल्याण्डका ३, श्रीलंकाका २, म्यानमारका २, कम्बोडियाका २ र ११ नेपाली भिक्षु वर्षावास बसेका थिए ।


प्रतिक्रिया