गोधुलीमा गोलाघाट (फोटोफिचर)

तस्बिर : रमेशकुमार पौडेल । रेडियो कान्तिपुर ।  

कार्तिक १७, २०७७ | चितवन

भरतपुर महानगरपालिका–२८ मा पर्ने गोलाघाटमा नारायणी नदी र राप्ती खोला मिसिएर अगाडि बढ्छन् । गोलाघाटमा सूर्यास्तको दृश्य नियाल्न स्थानीय तथा पर्यटकहरु जाने गर्दछन् । फराकिलो भएर बगेको नदी र परपरसम्म कुनै मानवीय वस्ती र भौतिक संरचनाहरु नभएका कारण यहाँबाट सूर्यास्तको शानदार दृश्य देखिन्छ । गोलाघाट भन्दा तल चितवनको कुनै वस्ती छैन । त्यहाँबाट क्षितिजसम्म निकुञ्जको जंगल, होचा पहाड र बग्दै गरेको नदी मात्रै देखिन्छ ।

नदीलाई सुनौलो बनाएर सूर्य डाँडाबाट ओझेल पर्दछ । भरतपुरको चौबिसकोठी या नारयणगढ पुल्चोकबाट गोलाघाट पुग्न निकै सजिलो छ । मंगलपुर, रामपुर, शारदानगर, चनौली, दिब्यनगर, पर्साढाप, मेघौलीको तेलौली, जितपुर हुँदै लगभग ३५ किलो मिटर दूरी पार गरेर गोलाघाट पुगिन्छ । अहिले अधिकांश सडक कालोपत्रे भएको छ । 

श्री राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनले बनाएको तीन तले टावरमा चढेर वा दोभानमा पुगेर सूर्यास्त हेर्न सकिन्छ । निकुञ्जको जंगल र दुई नदीको संगम भएको ठाउँ त्यसै आकर्षक लाग्छ ।नदीमा बसाँई सरेर आउने चराहरु देख्न सकिन्छ । गैंडा लगायत जंगली जनावरहरु किनारमा चर्दै गरेको र पानी खान आएको देख्न पाइन्छ । यो क्षेत्रमा ठूला होटलहरु खुल्न थालेका छन् । उनीहरुले आफ्ना पाहुनाहरुलाई सूर्यास्त देखाउन दोभानमा लैजाने गर्दछन् । 

आइतबार साँझ होटल ताज मेघौली सेराईले तीन वटा डुंगामा आफ्ना पाहुना राखेर सूर्यास्त देखाउन राप्ती दोभान पुर्‍याएको थियो । अन्य स्थानीय व्यक्ति पनि गोलाघाटको गोधुली क्यामेरामा कैद गर्न झुम्मिएका थिए ।


प्रतिक्रिया