सिन्धुलीगढीमा २५३ औं विजयोत्सव (फोटोफिचर)

कार्तिक २५, २०७७ | सिन्धुली

ऐतिहासिक सिन्धुलीगढीमा सोमबार विजयोत्सव मनाइएको छ । कोरोना महामारीकाबीच भौतिक दूरी कायम गरी २५३ औं विजयोत्सव मनाइएको हो । विजयोत्सवको अवसरमा सिन्धुलीगढी परिसरमा रहेको ठूलो गढीमा झण्डोत्तोलन गरिएको छ । 

कमलामाइ नगरपालिकाका नगरप्रमुख खड्गबहादुर खत्रीले झण्डोत्तोलन गरेका थिए । सालिन्दा गरिने विजयोत्सव कार्यक्रम यो पटक भने कोरोना कहरले प्रभावित बन्यो । २०६७ सालबाट नेपाल पत्रकार महासंघ सिन्धुलीशाखाले वियोत्सव मनाउन शुरु गरेको थियो । सिन्धुलीगढी प्रवेशद्धार सोलाभन्ज्याङबाट गढी क्षेत्रमा प्रवेश गरिन्छ । 

गढी क्षेत्रमा सानोगढी, ठुलोगढी, पौवागढी, आड, टुंडिखेल, भग्नावषेश रहेको दरवार, मठमन्दिर, जेलघर, अदालत रहेका छन् । सेनाको यूद्ध संग्राहलय निर्माणधिन अवस्थामा रहेको छ । गतवर्ष पृथ्वीनारायण शाहको शालिक समेत गढी क्षेत्रमा राखिएको छ । 

विसं १८२४ को असोज १५ गते कप्तान किनलोकको नेतृत्वमा आएको ब्रिटिश सेनालाई गोर्खाली फौजले सिन्धुलीगढीबाट पराजित गरेर पठाएको सम्झनामा प्रत्येक वर्ष कात्तिक २४ गते नेपालको झण्डा फहराएर सलामी अर्पण गरी विजयोत्सव मनाईंदै आएको छ । 

नेपाल एकीकरणका बेला आधुनिक हतियारले सुसज्जित अंग्रेज फौजलाई हराएर बिरासत बोकेको कमलामाई नगरपालिका–३ स्थित ऐतिहासिक स्थल सिन्धुलीगढीको विजय उत्सव भव्य रुपमा मनाउन सुरु भएको हो ।

 तत्कालीन काठमाडौंका राजा जयप्रकाश मल्ललाई सहयोग गर्न कप्तान किनलोकको नेतृत्वमा आएको इष्ट इण्डिया कम्पनीका हजारौं फौजलाइ वंशु गरुङ नेतृत्वको वीर गोर्खाली फौजले सिन्धुलीगढीमा धूलो चटाएको इतिहासमा पाइन्छ । शिकारी सेना गुरुङको नवौं पुस्ताको परिवारलाइ यो वर्ष सम्मान गरिएको छ । उनीहरु तनहुँबाट आएका थिए ।


प्रतिक्रिया