मनाङमा मंसिरमै हिमपात (फोटोफिचर)

मंसिर १, २०७७ | लमजुङ

हिमाली जिल्ला मनाङका बस्तीमा हिउँ पर्न थालेको छ । हिउँले बस्ती र माटो अधिकांश ढाकेको छ । केही ठाउँमा हिउँ परिरहेको छ । केही ठाउँमा भने रोकिएको स्थानीयले बताएका छन् । मनाङको ङिस्याङ गाउँपालिकाको मनाङ गाउँस्थित छिरिङ लोप्साङ गुरुङका अनुसार सोमबार बिहान १० बजेतिरबाट हिउँ परेको थियो । 

दिउँसो ३ बजेबाट रोकिएको उनले बताए । ‘माथिल्लो क्षेत्रको तिलिचो र थोराङ्ला क्षेत्रमा हिउँ परिरहेको छ । हिउँ जमेको छ,’ उनले भने, ‘बस्ती क्षेत्रमा केही मात्रामा जमेको हिउँ केही पग्लिएको छ ।’ उनका अनुसार राति हावाहुरी चलेको थियो । दिउँसो हिउँ परेको हो । गएका वर्षभन्दा १ महिना अघि नै हिउँ परेको उनले बताए ।

नार्पाभूमि गाउँपालिका अध्यक्ष मिङमा छिरिङ लामाका अनुसार नार, फू गाउँ र आसपासमा हिउँ परेको छ । हिउँले बस्ती ढाकेको छ । तल्लो क्षेत्रमा भने कम परेको छ । यसवर्ष नार्पाभूमि क्षेत्रमा ढिलो मात्रामा हिउँ परेको उहाँको भनाई छ । ‘पोहर–परार त कार्तिकमै हिउँ परेको हो । अहिले बल्ल मंसिर लाग्दा पर्‍यो’ उहाँले भन्नुभयो, ‘हिउँ परेपछि मानिस बाहिर निस्कन सकेका छैनन् । चिसो बढेको छ ।’

मनाङका प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीका अनुसार माथिल्लो मनाङका सवैजसो क्षेत्रमा हिमपात भएको छ । २ हजार ८ सय मिटर माथिका सबैजसो ठाउँमा हिमपात भएको उहाँले बताउनुभयो । उहाँका अनुसार मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाका केही बस्तीमा करीब २ फिटसम्म हिउँ परेको छ । साँझपख भने हिउँ केही पग्लिएको छ ।

चिसो अत्यधिक बढेपछि तापक्रम माइनस ८ डिग्री सेल्सियससम्म झरेको प्रजिअ गिरीले बताउनुभयो । मनाङमा यसवर्ष ३ हजार मिटर उचाईमा कार्तिक १७ गते नै हिउँ परेको थियो । माथिल्लो क्षेत्रका केही बस्ती र डाँडामा हिउँ परेपनि बस्ती नै पुरै ढाकिने गरी भने परेको थिएन । प्रजिअ गिरीका अनुसार गतवर्ष मंसिर २७ गते हिउँ परेको थियो । यसवर्ष चाँडै हिउँ परेको छ । 


प्रतिक्रिया