मायादेवी मन्दिर पर्यटकका लागि खुला (फोटोफिचर)

मंसिर ४, २०७७ | कपिलवस्तु

करीब ८ महिनापछि मुलुकको प्रमुख पर्यटकीय स्थल लुम्बिनीस्थित मायादेवी मन्दिर परिसर पर्यटकका लागि बुधबारबाट खुला गरिएको छ । मन्दिर खोदिएसँगै आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बुधबार मात्रै ६ सय बढी पर्यटकले मन्दिर परिसर अवलोकन गरेको लुम्बिनी विकास कोषले जनाएको छ । 

केन्द्रीय नहरमा डुंगा पनि सञ्चालन भएको छ । डुंगा सयर गर्नेको पनि चहलपहल बढेको छ । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पर्यटकलाई मन्दिर प्रवेश गर्न दिईएको छ । डेढ डेढ मिटरको दूरीमा उभिन लगाई लाईन लगाएर मास्क लगाई ज्वरो नापेर भित्र पठाउने गरिएको छ । मन्दिर परिसर भित्र अशोक स्तम्भ, पुष्करणी पोखरी, स्तूपको भग्नावषेश र प्राचीन ईनार अवलोकन गरी पर्यटक फर्कने गरेका छन् । 

लुम्बिनी विकास कोषको सचिवालय बैठक बसेर मन्दिर परिसर खोलिएको हो । बुद्ध जन्मस्थल रहेको गर्भ गृह र मायादेवी मन्दिर भने खोलिएको छैन । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति प्राप्त हुनासाथ मन्दिर पनि पर्यटकका लागि खोलिने कोष योजना प्रबन्धक सरोज भटराईले बताउनुभयो । 

मन्दिर खोल्नका लागि पर्यटन र होटल व्यवसायीले निक्कै दबाब दिएका थिए । धर्ना जुलुस पनि गरेका थिए । मन्दिर पूर्ण रुपमा सञ्चालन गर्न कोषले आन्तरिक तयारी पूरा गरेको जनाएको छ । 

लुम्बिनीमा आन्तरिक र बाह्य गरी वर्षेनी १६ लाख हाराहारीमा श्रद्धालु र पर्यटक आउने गरेका छन् । सन् २०१९ मा एक सय १५ मुलुकका पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए । अर्को बुद्धस्थल प्राचीन कपिलवस्तु तिलौराकोट पनि बुधबारबाटै खुलेको छ । 


प्रतिक्रिया