रामघाट मेला भर्न श्रद्धालुको घुँईचो (फोटोफिचर)

मंसिर १५, २०७७ | कपिलवस्तु

कोरोना भाईरस संक्रमणको बेवास्ता गर्दै कपिलवस्तुको ऐतिहासिक रामघाट मेला भर्न श्रद्धालु भक्तजनको घुँईचो लागेको छ । कार्तिक शुक्ल पूर्णिमाका दिन कपिलवस्तु नगरपालिकास्थित वाँणगंगा नदीको रामघाटमा लाग्ने नाहन मेला भर्न सोमबार बिहानैदेखि हजारौं भक्तजन आएका थिए । 

धार्मिक दृष्टिकोणले महत्वपूर्ण भएकाले पर–परबाट तीर्थालु आएका थिए । सोमबार लाग्ने मेलाका लागि आईतबार साँझैबाट रामघाटमा श्रद्धालु भक्तजन आउने क्रम सुरु भएको थियो । राति ३ बजेबाटै रामघाटमा स्नान गरी नजिकैको रामजानकी मन्दिरमा पूजाआजा गर्नेको लाईन थियो । जिल्ला प्रशासन कार्यालयले आईतबार दिउँसो सूचना प्रकाशित गरी मेला नलगाउन सूचना जारी गरेपनि भक्तजनहरु मेला भर्न पुगेका थिए । 

अधिकांश भक्तजनहरु मास्क नलगाई र सचेतना नअपनाई भीडमा आवतजावत गरेका थिए । यसले संक्रमण बढने चुनौती थपिएको स्वास्थ्यकर्मीहरु बताउँछन् । मन्दिर वरिपरि र नदी किनारमा रातभर साधुसन्त जाग्राम बसेर ढोल, खैजडी, झाँज र हरमुनियम बजाई भजन, किर्तन र चुड्का भन्दै बसेका थिए । 

त्रेता युगमा भगवान राम वनवास जाने क्रममा रामघाट आई पुग्दा उनलाई पानी प्यास लागेपछि अर्जुनले वाँण हानेर पानी निकालेको धार्मिक किम्वदन्ती रहेको अवधि लोककला विशेषज्ञ विक्रममणी त्रिपाठीले बताउनुभयो । भगवान रामले पानी पिएको हुँदा यस ठाउँको नाम रामघाट रहन गई धार्मिक तीर्थस्थल भएको बुढापाकाहरु बताउँछन् । त्यसैगरी कपिलवस्तुको लक्ष्मणघाट, बर्गदीघाट र ब्रह्घाटमा सोमबारै मेला लागेको छ । 


प्रतिक्रिया