मायादेवी ट्रेल खोज्दै युनेस्कोका नेपाल प्रतिनिधि (फोटोफिचर)

मंसिर २८, २०७७ | कपिलवस्तु

मदर मायादेवी सुत्केरी मार्ग पछयाउँदै युनेस्को नेपाल प्रतिनिधि क्रिस्चियन म्यानहर्ट र परामर्शदाता थोमश स्क्ररोमले साईकल यात्रा गरेका छन् । लुम्बिनी र कपिलवस्तुको पर्यटन विकासका लागि नयाँ पर्यटकीय गन्तब्यका रुपमा अघि सारिएको मायादेवी सुत्केरी मार्गको बाटो भएर साईकल यात्रा गर्दै उनीहरु तिरौराकोट पुगेका हुन् । 

बुद्ध जन्मस्थल लुम्बिनीबाट पडरिया हुँदा मनौरी, सिवलवा, विजुवा, सिसहनिया, दोहनी, निग्लिहवा हुँदै शाक्य वंशीय राजधानी तिलौराकोट पुगेका ह्न् । उनीहरुले ४ घण्टामा करीब ३६ किलोमिटर साईकल यात्रा गरेका थिए । उनीहरु गोरेटो, धुलाम्मे ग्राभेल र कालोपत्रे बाटो हुँदै यात्रा गरेका थिए । नहर, कुलो, कल्भर्ट र खेतको उबड खाबड बाटो हुँदै यात्रा गरेका थिए । उनीहरु यात्राका लागि काठमाडौंबाट साईकल ल्याएका थिए । 

विश्व बैंकले मायादेवी सुत्केरी भएर पहिलो पटक दरबार फर्केको बाटोलाई मायादेवी ट्रेलका रुपमा विकास गर्ने रुचि देखाएपछि अध्ययन र अनुभव गर्न आएको उनीहरुले बताए । अब कसरी विकास गर्ने भन्ने विषयमा छलफल थालिने बताए । सुत्केरी मार्गलाई पर्यटन प्रडक्ट बनाउने अवधारणा लुम्बिनी विकास कोषका सद्भावना राजदूत विक्रम पाँडेकाजीले ल्याएका हुन् । 

मायादेवी राजधानी घर फर्केको बाटो भने लामो अध्ययन गरेर बुद्धस्थलका अध्येता वरिष्ठ पुरातत्वविद् वसन्त विडारीले पत्ता लगाएका हुन् । राजकुमार सिद्धार्थ लुम्बिनीको पिपल वृक्षमुनि जन्मेपछि गाउको बाटो हुँदै राजदरवार तिलौराकोट भित्रयाईएको थियो । 

एउटै खाले पर्यटन प्रडक्ट रहेको अवस्थामा यो ट्रेलको विकासले त्यसमा विविधता थप्न सहयोग पुग्छ । बौद्ध धर्मावलम्बी र शान्तिकार्मीका लागि मायादेवी सुत्केरी भई शिशु बालकलाई लिएर राजमहल फर्केको बाटो हेर्न र माटो छुन पाउँदा पनि भाग्यमानी सम्झिने हुँदा यहाँ आउन लालायीत हुन्छन् ।


प्रतिक्रिया