कोरोनाको जोखिमकाबीच देवघाट धाममा मकर स्नान (फोटोहरु)

माघ १, २०७७ | चितवन

कालिगण्डकी र त्रिशूली नदीको संगम स्थल देवघाट धाममा माघे संक्रान्तिका दिन मकर स्नान गर्नेहरुको घुइँचो लागेको छ । कोरोनाको त्रास यथावत रहेपनि यो वर्ष समेत माघे स्नान गर्नेहरुको देवघाटमा राम्रै जमघट देखिन्छ । 

देवघाटमा अघिल्ला वर्षहरुको जस्तो बजार भने लागेको छैन । तर नुहाउन आउनेहरु प्रशस्तै छन् । चितवन भन्दा टाढा टाढाबाट पनि माघे स्नानका लागि देवघाट आएका छन् । जीबी योगी बिहीबार बिहान देउघाटमा भेटिए । 

मोरङ इटहराका योगीसँगै ७९ वर्षीया आमा तुलसी योगी पनि थिइन् । आमा तुलसीलाई हिँड्न गाह्रो हुन्छ । उनी फलामे वाकरको सहयोगमा बिस्तारै अगाडी बढ्दै थिइन् । छोरा जीबी उनलाई डोर्‍याउँदै थिए । ‘आमालाई युरिक एसिड छ । राम्रोसँग हिँड्न सक्नु हुन्न, गाह्रो छ । म पनि विदेश थिए । आएका बेलामा देवघाट जाने कुरा भयो । बा आमा दुबैलाई दिएर आएँ जीबीले भने ।

उनका बाबु पदम नुहाउने स्थलमा छोरीसँग पुगि सकेका थिए । पर्सा जिल्लाको पोखरीयाबाट आएका सुरेन्द्र चौहान नुहाएपछि चौतारामा जम्मा भएर खाजा बनाएर खाने तयारी गर्दै थिए । ४० जनाको समूह बनाएर स्नान गर्न आएको उनले बताए । ‘कोरोनाको बेला छ । तर जोगिएर हामी यहाँ आएका हौं । जोगिएरै नुहाएका छौं । कति कोचिएर बस्ने भनेर यो पटक देवघाट आएको हो’ सुरेन्द्रसँगै आएका गुनेश्वरप्रसाद चौहानले भने ।

सामान्य अवस्थामा देवघाटमा मकर स्नान गर्न दुई लाख भन्दा धेरै आउने गर्दछन् । पुस मसान्तदेखि माघे संक्रान्तिभर स्नान गर्नेहरुका भीडभाड हुन्छ । यो वर्ष त्यो तहका भीड त छैन तर स्नानघाटमा ठूलै जमघट छ । देवघाट क्षेत्र विकास समितिका कर्मचारी किरण पौडेल पहिलाको तुलनामा मान्छे कम आएको बताउँछन् । ‘तर यस्तो समयमा पनि आएका छन् । पहिलाको जस्तो भीड त छैन । त्यो बेलाको भन्दा आधा भन्दा धेरै आएका छन् झै लाग्छ’ पौडेलले भने । 


प्रतिक्रिया