लेजर लाईटमा बुद्ध जीवनी (फोटोफिचर)

तस्बिर : मनोज पौडेल/रेडियो कान्तिपुर । 

फाल्गुन २१, २०७७ | कपिलवस्तु

लुम्बिनी भ्रमणका लागि आउने पर्यटकको बसाई लम्ब्याउन लुम्बिनी विकास कोषले आधुनिक कोलोनेड तथा सिम्बोलिक पेभेलियन (सांस्कृतिक धरोहर) निर्माणको काम पूरा गरेको छ । अत्याधुनिक प्रविधि लेजर लाईटको माध्यमबाट भगवान गौतम बुद्धको जीवनी देखाउन संरचना तयार गरिएको हो । १ सय ६० वाई १ सय ६० मिटर क्षेत्रमा जापानी वास्तुकलाविद् केन्जो टांगेको टांगे आर्किटेक्ट अनुसार गुम्बज शैलीमा संरचना तयार गरिएको छ । 

चाईनिज इँटा प्रयोग गरी पूर्व–पश्चिम भागमा गोलो स्टेपहरु बनाईएका छन् । उत्तर–दक्षिण जोडिँदै गएर स्टेपले पर्खालको काम गरेको छ । उत्तर–दक्षिण चार वटा अग्ला गोलाकार सिम्बोलिक पेभेलियन छन् । निक्कै आकर्षक र चित्ताकर्षक पेभेलियन परैबाटै हेर्दै त्यहाँ पुग्न सकिन्छ । आकाश खुलेका बेला पेभेलियनबाट उत्तर सिधै हेर्दा शुभ्र धौलागिरी हिमाल पनि देखिन्छ । 

३० लाख लिटर पानी जम्मा गर्न सक्ने क्षमताको पोखरी त्यहाँको मुख्य आकर्षण हो । त्यही पानीलाई प्रविधि प्रयोग गरी माथि उचालेर लेजर माध्यमबाट प्रकाश र आवाज मार्फत बुद्ध जीवनी देखाउन तयारी गरिएको लुम्बिनी विकास कोष योजना प्रबन्धक सरोज भट्टराईले बताउनुभयो । सिंगापुर र दुबईको बुर्ज खलिफामा देखाईने साउण्ड एण्ड लाईट शो जस्तै यहाँ देखाईने छ ।

यहाँ बुद्धको जीवनी, उनको देशना र महापरिनिर्वाणलाई जीवन्त देखाईनेछ । दुई हजार ५ सय जना सम्मले कार्यक्रम हेर्न सक्ने क्षमताको छ । सो संरचना २२ करोड रुपैयाँको लागतमा हनुमान कन्ट्रक्सनले दुई वर्षमा तयार पारेको हो । जापानी वास्तुकलाविद् केन्जो टांगेको गुरुयोजना अनुसार यो संरचना न्यू लुम्बिनी ग्राममा बनाईएको छ ।

सिम्बोलिक पेभेलियन भित्रको वातावरण निक्कै कलात्मक र मनमोहक छ । सफा र चिरिच्याट्ट छ । नजिकै उत्तर तिर दुई अग्ला सिम्बोलिक पेभेलियनको बीचबाट विश्व शान्ति स्तूप निक्कै सुन्दर र मनोरम देखिन्छ । दक्षिण एशियाकै अग्लो मानिने ४१ दशमलव ५ मिटर अग्लो शान्ति स्तूपको प्रतिबिम्ब भित्रको पोखरीमा पर्दा यहाँ आउने सबै आह्लादित हुन्छन् ।


प्रतिक्रिया