चितवनमा मेसिनबाट चैते धान रोप्दै (फोटोहरु)

चैत्र २, २०७७ | चितवन

चितवनको पूर्वी क्षेत्रमा चैते धान रोप्ने चटारो सुरु भएको छ । खैरहनी नगरपालिका–१३ कुमरोज हर्नरीका सूर्यबहादुर बोगटीले दुई बिघामा चैते धान रोप्दै छन् । उनले एक बिघाको सिंगै एउटै खेत हिल्याएर ठिक्क पारे । यति ठूलो खेतमा धान रोप्न रोपाहारको हुलै हुनु पर्ने हो । तर, बोगटीको हिलो खेतमा धान रोप्न बीउ मुट्ठीमा लिएका एक जना पनि खेताला थिएनन् । उनको हिलो गह्रामा एउटा चार पाङ्ग्रे मेसिन धान रोप्न कुदेको थियो । 

चितवनमा मेसिनले धान रोप्ने चलन केही वर्षअघि नै सुरु भएको हो । तर यसको प्रयोग बढ्न सकेको छैन । खेतमा फाट्टफुट्ट यस्ता मेसिन देखिने गर्दछन् । तीमध्ये पनि प्राय जसो तीन पाङ्ग्रे मेसिन छन् । यो पटक अलि फरक खालका धान रोप्ने चार पाङ्ग्रे मेसिन किसानको खेतमा कुद्न थालेका छन् । चितवनमा यस्ता दुई वटा मेसिन छन् । जुन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले अनुदानमा उपलब्ध गराएको हो । 

परियोजनाका सूचना अधिकारी माधव पौडेलले यस्ता धान रोप्ने तीन पाङ्ग्रे मेसिन जिल्लाका विभिन्न ठाउँमा गरी पाँच वटा रहेको बताउनुभयो । उहाँका अनुसार एउटा चार पाङ्ग्रे मेसिन अलि पहिल्यै आएको थियो । उहाँले भन्नुभयो, ‘अहिले आएका चार पाङ्ग्रा भएका यी दुई वटा मेसिनले ६ लाइनमा धान रोप्छ । पहिलोको मेसिनले चार लाईनमा मात्रै रोप्थ्यो ।’ चितवनको राजमार्गदेखि दक्षिणको क्षेत्रमा चैते धान रोपाइँ हुन्छ ।

 खैरहनीको कुमरोज साना किसान कृषि सहकारी र रत्ननगर बछौलीको साना किसान कृषि सहकारीले एक–एक वटा यस्तो मेसिन ल्याएका हुन् । परियोजनाले ५० प्रतिशत अनुदान दिने भएपछि सहकारीले एउटा मेसिनका लागि २० लाख ९० हजार रुपैयाँ खर्च गरेको छ । कुमरोज र बछौलीको चक्लाबन्दी खेतीमा समावेश किसानले अहिले मेसिन प्रयोग गरी धान रोप्न थालेका छन् ।

बछौलीमा चक्लाबन्दी गरेको ३० बिघा खेत छ । चक्लाबन्दीका संयोजक मनिराम महतो त्योमध्ये पाँच बिघा जमिन मेसिनले रोप्ने बताउँछन् । कुमरोजमा पनि पाँच बिघा नै मेसिनले रोप्दै छ । ‘हुन त मेरो दुई बिघा जमिन छ । सबै जमिनमा मैले मेसिनले धान रोप्ने विचार नगरेको हैन । तर अरु साथीहरुको खेतमा पनि मेसिनले रोप्ने मेसो मिलाउन पर्ने भएका कारणले एक बिघामा मात्रै मेसिनले रोप्दै छु’ हर्नरीका किसान सूर्यबहादुर बोगटीले भने ।

मेसिनले धान रोप्न बीउ राख्ने बेलादेखि नै तयारी गर्नु पर्दछ । ट्रेमा राखेको बीउ हुर्केपछि मेसिनमा राखेर रोप्न लैजानु पर्दछ । धान रोप्ने जमिनको सतह पनि एकैनासको मिलेको हुनु पर्दछ । परियोजनाका सूचना अधिकारी पौडेलले भन्नुभयो, ‘यो पटक समयमै मेसिन आउने हो कि नआउने भन्ने भयो । त्यसैले धेरै खेतलाई पुग्ने बीउ राखेनौं ।’ यो पटक परीक्षणकै रुपमा चैते धान मेसिनले रोपेको उहाँले बताउनुभयो ।


प्रतिक्रिया