जब उनीहरुको आँखाको ज्योति फर्कियो (तस्बिरहरु)

चैत्र २१, २०७७ | कपिलवस्तु

रुपन्देहीकी कोटहीमाई गाउँपालिका, मर्चवारकी ७० वर्षीया मिलपाती यादवले दाहिने आँखाले देख्दा निक्कै खुसी भईन् । वर्ष दिनदेखि मोतिया बिन्दुका कारण आँखा देख्न छाडेकी उनले गरिबीकै कारण शल्यक्रिया गर्न सकेकी थिईनन् । उनी जस्तै लुम्बिनी सांस्कृतिक नगरपालिका सोनवर्षी निवासी ५५ वर्षीया वर्षे राजकुमारी हरिजनमा पनि आँखा देख्ने भएपछि हर्षको सीमा रहेन् । 

उनले डेढ वर्षदेखि देख्न छाडेको आँखा मोतियाबिन्दुको शल्यक्रियापछि ज्योति फर्कदा निक्कै खुसी भईन् । उनले पनि आर्थिक अभावले समयमै शल्यक्रिया गर्न सकेकी थिईनन् । उनीहरु जस्तै बुद्ध जन्मस्थल लुम्बिनीमा ३ सय २० जनाको आँखाको मोतियाबिन्दुको नि:शुल्क शल्यक्रिया गरिएको छ । एक महिनादेखि २ वर्षसम्म आँखा नदेख्नेको शल्यक्रिया गरेर ज्योति फकाईएको हो । 


दिवंगत थाई राजा भूमिवल अदुल्ययादेजको स्मृतिमा आयोजित ४ दिने नि:शुल्क आँखा उपचार शिविरमा कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीका बिरामीको उपचार गरिएको हो । ३ महिलाको एकै पटक दुबै आखा शल्यक्रिया गरेर ज्योति फकाईएको छ । यी ३ जनाको समयमै शल्यक्रिया नगरे आँखाको ज्योति गुम्ने जोखिम रहेकाले एकै पटक गरिएको हो । 

राजकीय थाई मोनाष्ट्री, लुम्बिनी, थाई राजदूतावास र लुम्बिनी स्वर्ण भूमि फाउण्डेसनको आयोजनामा तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख डा. सन्दुक रुईत नेतृत्वको १५ सदस्यीय स्वास्थ्यकर्मी टोलीले शल्यक्रिया गरेको हो । सबै बिरामीलाई अहिलेको अत्याधुनिक प्रविधि फेकोबाट शल्यक्रिया गरिएको थियो । 

शिविरबाट गरीब विपन्नले फाईदा लिएका छन् । रकम अभावमा मोतियाबिन्दुको शल्यक्रिया गर्न नसकेकालाई लक्षित गरी शिविर आयोजना गरिएको थियो । शल्यक्रिया गरेका सबैले देख्न सक्ने बनेका छन् । 

शिविरमा आउने बिरामीलाई खानाखाजा, बस्ने, शल्यक्रिया, चस्मा र औषधि नि:शुल्क प्रदान गरिएको गरिएको राजकीय थाई बिहार प्रमुख सुपोत कितिवन्नोले बताउनुभयो । बिरामीलाई घरबाट ल्याउने र पुर्‍याउने बस सुविधा पनि प्रदान गरेको थियो । शल्यक्रियाका लागि बिरामी छान्न आयोजित दुई दिने शिविरमा ८ सय ५० जनाको आँखा परीक्षण गरिएको थियो । शिविर शुक्रबार सकियो ।


प्रतिक्रिया