गाउँ पुगे गाँजा सुसारेहरु

मंसिर २६, २०७६ | चितवन

गाँजा खेती विरुद्ध सक्रियता बढाएको प्रहरी प्रशासनको दाबी गरेपनि चितवनको पहाडी क्षेत्र खास गरेर राप्ती नगरपालिकाको वडा नम्बर १२ र १३ मा पर्ने विकट ठाउँहरुमा यो खेती मौलाएकै छ । अघिल्लो पटक भदौ १६ मा राप्ती नगरपालिकाको वडा नम्बर १२ बाङशिलिङ गाउँ पुग्दा स्थानीयहरु समूह बनाएर खेतमा धमाधम गाँजा रोप्दै थिए । यो पटक बुधबार दिउँसो सोही गाउँ पुग्दा गाँजाका हुर्केका बोटको स्याहार सुसार गर्दै गरेका नौला मान्छेहरु भेटिए ।

चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार साउन यता भदौ दोस्रो हप्तासम्म गाँजा खेती विरुद्ध अभियान लिएर प्रहरी चार पटक पहाड चढेको छ । बाङ्शिलिङमा गाउँलेले गाँजा रोप्दै गरेको भन्दा तीन दिनअघि पनि प्रहरीले पहाड डुलेर गाँजा फाँडेको थियो । भदौ १६ पछि पनि पटक पटक प्रहरी त्यता लाग्यो । मंसिर ७ गते चितवनका तत्कालीन प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत र प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल नै पहाड पुगेर गाँजा फाँडेर फर्केका थिए ।

भण्डाराबाट जीपमा दुई घण्टामा कोराक ड्याम पुगिन्छ । त्यहाँबाट पैदल आधा घण्टा हिँडेपछि पुगिन्छ बाङ्शिलिङ गाउँ । प्रहरी प्रशासनको सक्रियता बढेको भनिए पनि बाङ्शिलिङमा गाँजा फाँड्नेभन्दा स्याहार्नेहरुको पहुँच राम्रोसँग पुगेको देखिन्छ । त्यहाँ गाँजा ‘सुसारेहरु’ निर्धक्क गाँजाको स्याहार सुसारमा जुटेका छन् । अघिल्लो पटक फोटो खिचेको खेतमा गाँजाको बोट त्यति राम्रोसँग मौलाएका छैनन् । तर, भर्खर सिंचाइ गरेको र मरेका बोट र पात हटाएको भने देखियो ।

त्यहाँदेखि अल्ली पर रहेको खेतमा भने गाँजाको बोट हर्लक्क भएर आएको छ । सुरुमा त्यहाँ कोही भेटिएनन् । बाङ्शिलिङ देखि परको गाउँ पुगेर फर्कदै गर्दा झण्डै डेढ किलो मिटर टाढाबाट हर्लक्क हुर्केको गाँजाको बोटहरुभित्र दुई जना मान्छेको चहल पहल देखियो । परैबाट क्यामेराले हेर्दा उनीहरुले लौरोले बोट मिलाउँदै पात र हाँगा छिमलेको देखियो । खेतमै पुग्दा उनीहरु आलीमा बसेर खेती रुँग्दै थिए ।

ती दुई जना स्थानीय चेपाङ भन्दा अलग थिए, अग्ला थिए । उनीहरु तराइमा बस्ने मधेसी जस्तै देखिन्थे । फोटो खिच्दा केही प्रतिवाद गरेनन् । सोधेको कुराको पनि जवाफ फर्काएनन् । ‘घर कहाँ हो’ भन्दा पनि केही बोलेनन् । ‘नेपाल हो कि भारत भनेर सोध्दा’ केवल ‘नेपाल’ भनेर चुप लागे । गाउँलेहरुले अघिल्लो पटक नै हामीलाई भनेका थिए गाँजा रोपेर हुर्केपछि स्याहार सुसार गर्न र राम्रो बोट छान्न भारतबाटै मान्छेहरु आउँछन् । भारतीयहरुकै रुप रंग र लवज मिल्ने व्यक्तिहरु अहिले चेपाङ गाउँमा निर्धक्क गाँजाको स्याहारमा लागेका छन् । 


प्रतिक्रिया