काभ्रेमा भएका छुट्टाछुट्टै दुर्घटनामा ५ को मृत्यु

पुस २४, २०७६ | काभ्रे

काभ्रेमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाले ज्यान गुमाएका छन् । ३ घाइते छन् । 

पनौती–११ थुम्कीमा पाटीखर्कबाट ख्याकु जाने सडक निर्माण गरिरहेको स्काभेटर सडकबाट करीब ३ सय मिटर तल सलान्दु खोलामा खस्दा १६ वर्षीय राउत केसी र सिन्धुपाल्चोक घर भई दिदीको घरमा आएका १५ वर्षीय रोशन भण्डारीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दिपक गिरीले जानकारी दिनभुुयो । 

प्रहरीका अनुसार, धुलिखेल अस्पतालमा उपचाररत चालक पनौती ७ का २७ वर्षीय जीवन ताम्राकारको अवस्था सामान्य छ ।

यता, नमोबुद्ध नगरपालिका–२ सेल्फी डाँडामा भएको मिनि टिपर दुर्घटनामा पनि २ जनाले ज्यान गुमाएका छन् । धुलिखेलबाट भकुण्डेबेशीतर्फ जाँदै गरेको वल्र्डवाईल्ड कन्ट्रक्सन प्रालिको बा २ क ५ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट अन्दाजी २ सय ५० फिट तल खस्दा चालक मकवानपुरको टिस्टुङ पालुङका २३ वर्षीय आश्विन विष्ट र सुपरभाइजर ललितपुर चुलिखेलका अन्दाजी २२ वर्षीय विशाल खड्काको मृत्यु भएको गिरीले जानकारी दिनुभयो ।

बिहीबार नै रोशी –९ पानाञ्चेस्थित भित्री सडक खण्डमा देउरालीबाट नार्के तर्फ आउँदै गरेको दूध बोकेको बा ५ च ५०७४ नम्बरको जिप करीब सय मिटर तल खस्दा १२ वर्षीय अनिल रानामगरको मृत्यु भएको हो । उपचारको लागि धुलिखेल अस्पताल पुर्‍याए लगत्तै उनलाई डाक्टरले मृत घोषणा गरेका थिए । 

सोही स्थानकी अन्दाजी ७०/७५ वर्षीय सतीकुमारी पिठाकोटेको डाढमा चोट लागेको छ । घाइते रहेका चालक रोशी –६ का २३ वर्षीय टंकमान लामाको टाउको चोट लागेको र दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया