सरकारी कागजात कीर्ते प्रकरणमा ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा

माघ १, २०७६ | काठमाडौं

सरकारी कागजात कीर्ते गरी उपभोक्ता समिति गठन गरेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

आयोगले पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका तत्कालीन प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजकुमार गोईत, पूर्व सभासद वीपी यादव र राजपाका केन्द्रीय सदस्य हरिनारायण मण्डल सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । 

डिभिजनल इन्जिनियर गोईत, पूर्व सभासद यादव र राजपा नेता मण्डलसहित नायब सुब्बा भागवत यादव, विरेन्द्रकुमार मण्डल र कृष्णकुमार यादवले सरकारी रकमको दुरुपयोग गरेको दाबी सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

उनीहरुविरुद्ध अयोगले २५ लाख रुपैयाँ बिगो माग दावी गरेको छ । सरकारी कागजात कीर्ते मुद्दामा सप्तरी प्रहरीले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । उनीहरु विरुद्धको कीर्ते मुद्दा जिल्ला अदालत सप्तरीमा विचाराधिन छ ।

प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालय अन्र्तरगत सप्तरी जिल्लामा सञ्चालित योजना मध्ये अग्निसाइर कृष्णासवरण गाउँपालिका २ र ३ मा पर्ने सडक ग्राभेल गर्न पूर्व सभासद वीपी यादवले गाउँपालिकाको नक्कली लेटर प्याडको दुरुपयोग गरी उपभोक्ता समिति बनाएको आरोप छ । 

पहिलो संविधानसभामा वीपी यादव तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका समानुपातिक सांसद थिए । सोही समयमा पनि उनी रातो पासपोर्ट काण्डमा मुछिएका थिए ।  


प्रतिक्रिया