२६ वर्षीया सुनीताले जन्माईन चम्ल्याहा

माघ २, २०७६ | पोखरा

पोखराको मनिपाल शिक्षण अस्पतालमा बिहीबार चम्ल्याहा शिशुको जन्म भएको छ । स्याङजाको पुतलीबजार नगरपालिका–१ की २६ वर्षीया सुनीता पौडेल प्रधानले ३ छोरी र १ छोरालाई जन्म दिएकी हुन् । 

चारै जना शिशु र आमाको स्वास्थ्य अवस्था ठीक रहेको अस्पतालले जनाएको छ ।

डाक्टर महेन्द्र पाण्डेको नेतृत्वमा शल्यक्रिया मार्फत चार बच्चाको जन्म दिइएको हो । डाक्टर पाण्डेका अनुसार पहिलो बच्चा छोरी डेढ केजीकीलाई ९ बजेर ४९ मिनेटमा निकालिएको थियो । 

सोही समयमा दोस्रो बच्चा छोरा (१.३ केजी), तेस्रो र चौथो बच्चा छोरीहरु (१.३ र १.४ केजीका) लाई ९ बजेर ५० मिनेटमा निकालिएको हो । 

पाण्डे नेतृत्वमा ७ चिकित्सक र स्वास्थ्यकर्मीको पहलमा करीव ४० मिनेट लगाएर शल्यक्रियामार्फत बच्चाको जन्म गराइएको हो ।

‘भिडियो एक्सरे गर्दा तीनवटा बच्चामात्रै देखिएको थियो’ पाण्डेले भन्नुभयो, ‘तर शल्यक्रिया गर्दा चारवटा भेटिए ।’ पाण्डेका अनुसार प्रति ८ लाखमा एकजनाले चम्ल्याहा जन्माउने गर्छन ।

सुनीताको यो दोस्रो गर्भ थियो । ३४ साता ४ दिनमा उनले चार सन्तान जन्माएकी हुन् । उनको ५ वर्षीय एक छोरा छन् । गत आइतबार उनी सुत्केरीका लागि मनिपाल भर्ना भएकी थिइन् ।  


प्रतिक्रिया